हत्यारालाई सम्बोधन

हत्यारालाई सम्बोधन



पसिनाको मोल सस्तो छ, झनै सस्तो छ आँसुको मूल्य
विचारको मूल्यको के भाऊ लगाउनुहुन्छ सांसदज्यू ?
सस्तैमा लानु भो जङ्गल, झनै सस्तोमा लानु भो पानी
सस्तैमा लानु भो ढुङ्गा–बालुवा, झनै सस्तोमा लानु भो डल्लै पहाड ।

यो चिसो छातीमा सल्किरहेको भुप्रोको
के दाम लगाउनु हुन्छ सांसदज्यू ?

गिद्धका पखेटाहरूलाई बैसाखी बनाएर
जब टेक्न आउनुहुन्छ मेरो धरती
मलाई मेरा सपनाहरूको बीउ जोगाउन कम गाह्रो हुन्छ !

तपाईका क्रुर मुस्कानबाट निस्कने कालो गुलाफका काँडाहरू
रगतपच्छे पारिराख्छ मेरा अक्षरहरूलाई
अनि आफ्ना सेतो कमिजका बगले गोजीमा
मेरा निरीह शब्दहरू खाँदेर
जब तपाई संसद भवन पस्नुहुन्छ
ठीक त्यसको भोलिपल्ट राजधानीका अखबारले छाप्छन्
मेरा सपनाहरू सामुहिक आत्महत्या गरेको कभरस्टोरी

सांसदज्यू ! अब म इभिएमको बटन थिचूँ कि तपाईंको स्वासनली ?