काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समिति तथा उक्त समितिमा रहेका सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाएका छन्।
बिहीबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा जबराले आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै निष्पक्षताको प्रश्न उठाएका हुन्। जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाए ।
‘आफैंले महाभियोग प्रस्ताव गर्ने, आफैं छानबिन गर्ने, निर्णय पनि आफैं गर्ने ? यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ,’ बयान दिने क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा हुनुहुन्छ।’ महाभियोग प्रस्ताव गर्नेहरूले समितिमा बसेर छानबिन गर्दा स्वार्थ बाझिने पनि उनले तर्क गरेका छन्।
जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरे । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन् । जबराले आफूमाथि लागको आरोपको जवाफ दिएको भन्दै समितिले आफूलाई असक्षम भनेर लगाएको आरोप गलत भएको बताए ।
‘मैले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको हुँ, कसैलाई आरोप लगाएको होइन‚’ जबराले भने । उनले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे ।
योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ।


प्रतिक्रिया