असोज १ देखि दसैँ सहुलियत पसल, घरघरमा सामान पुर्‍याउने सुविधा

असोज १ देखि दसैँ सहुलियत पसल, घरघरमा सामान पुर्‍याउने सुविधा


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । यस वर्षको दसैँका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् ।

देशका ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइनेछ ।

यो छुट रकम पोहोरको मूल्यभन्दा पनि प्रतिकिलो २ रुपैयाँ कम उनले बताए । थापाका अनुसार काठमाडौं उपत्यकामा रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदी कम्पनीको वेबसाइट/अनलाइनबाट अर्डर गरेमा सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधा समेत रहेको थापाले बताए ।

कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेकोमा सहुलियत दरमा १०३ रुपैयाँ पर्नेछ । जीरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ । त्यस्तै खाने तेलको मूल्यमा पनि प्रतिलिटर ७ रुपैयाँ रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ ।