एमाले वर्चश्व रहेको कास्कीमा गठबन्धनको धावा

एमाले वर्चश्व रहेको कास्कीमा गठबन्धनको धावा



काठमाडौं । नेकपा एमालेको वर्चश्व रहेको कास्की जिल्ला गठबन्धनले धावा बाेलेकाे छ । संघीय संसदमा तीनवटा क्षेत्र र एक महानगरपालिकासहित पाँचवटा स्थानीय तह रहेको कास्कीमा दुईवटा क्षेत्र आफूसँग राखेर कांग्रेसले एउटा अन्य दललाई दिन सक्छ । यद्यपि, कास्कीमा पनि कांग्रेस र एमाले नै प्रमुख राजनीतिक शक्ति हुन् ।

आफूलाई तेस्रो राजनीतिक शक्ति ठान्ने नेकपा (माओवादी केन्द्र) को समेत कास्कीमा खासै प्रभाव देखिँदैन । पोखरा महानगरको मेयर जितेको नेकपा (एस) समेत कास्कीमा कमजोर राजनीतिक शक्तिको रुपमा रहेको छ । यसका बाबजुद पनि सम्भवतः कास्की क्षेत्र नं. २ मा नेकपा (एस) ले संघीय निर्वाचनमा उम्मेदवार उठाउन सक्छ ।

स्थानीय निर्वाचन राजनीतिक दलहरुले प्राप्त गरेको मतलाई विश्लेषण गर्ने हो भने क्षेत्र नं. १ मा कांग्रेस बलियो देखिएको छ । यस्तै क्षेत्र नं. २ मा एमाले प्रभावशाली देखिन्छ । क्षेत्र नं. ३ मा कांग्रेस र एमाले लगभग उस्तै अवस्थामा छन् । वडा तहको मत विश्लेषण गर्ने हो भने क्षेत्र नं. १ मा कास्की कांग्रेसको ३३ हजार ८ सय ३७, एमालेको ३० हजार १ सय ९६, माओवादीको ३ हजार २ सय ७८ र राप्रपाको १ हजार ८ सय १८ मत छ ।

यसैगरी क्षेत्र नं. २ मा एमालेसँग २१ हजार १ सय ६४, कांग्रेससँग १९ हजार ८, राप्रपासँग २ हजार ७९, नेकपा (एस) २ हजार ५३, माओवादीसँग १ हजार १ सय ९८ र जसपासँग १ सय ५३ मत छ । यस्तै क्षेत्र नं. ३ मा एमालेको २९ हजार ८ सय ५, कांग्रेसको २८ हजार ८ सय ४६, माओवादीको २ हजार ४ सय, राप्रपाको १ हजार ६५ र नेकपा (एस)को ५ सय १ मत छ ।

कास्कीका पाँचवटा पालिकामा ७२ वटा वडाहरु छन् । यी वडामा कांग्रेसको बहुमत छ । ४२ वटा वडामा कांग्रेसले जितेको छ भने २६ वटामा एमाले विजयी भएको छ । माओवादीले ३ वटा वडामा र पोखराको २२ नं. वडामा एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एसले एउटा पनि वडा जितेको छैन ।
कांग्रेसले प्रतिनिधिसभाको २ वटा र प्रदेशमा तीनवटा सिट लिएर बाँकी गठबन्धनलाई छाड्ने सम्भावना बलियो छ । क्षेत्र नं. १ र ३ कांग्रेसले राखेर तीनवटै प्रदेशमा १–१ सिट लिन सक्नेछ । कांग्रेसले प्रदेश १ को (क) रोज्यो भने संघीय निर्वाचनमा उम्मदेवारका आकांक्षीमध्ये एकजनालाई उठाउने छ भने (ख) पाए पुरानै उम्मेदवार कृष्णबहादुर केसीलाई उम्मेदवार बनाउन सक्छ ।

यस्तै क्षेत्र नं. २ को (ख) कांग्रेसले पुरानै उम्मेदवार विन्दुकुमार थापालाई अगाडि सार्ने सम्भावना छ भने (क) गठबन्धनलाई छोड्न सक्छ । गत निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका राजुकाजी गुरुङ संघीय निर्वाचनमा उम्मेदवार बन्ने भएपछि (क) मा नेकपा (एस) को उम्मेदवार बन्न सक्ने सम्भावना छ ।

क्षेत्र नं. ३ मा पनि कांग्रेसले प्रदेश (ख) नै रोज्न सक्छ । यदि (ख) नै रोजे सिकन्दर गुरुङ यस पटक पनि उम्मेदवार बन्न सक्ने छन् । (क) मा एमालेले पुरानै उम्मेदवार राजीव पहारीलाई उम्मेदवार बनाउन सक्छ । गठबन्धनबाट माओवादीले आफ्नो उम्मेदवार उठाउन सक्छ ।

कास्की क्षेत्र नं. १ मा २०७४ सालको निर्वाचनमा एमालेका खगराज अधिकारी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापाले भन्दा १३ हजार बढी मत ल्याएर विजयी भएका हुन् । यसपटक पनि एमालेले उनैलाई उम्मेदवार बनाउने पक्कापक्की जस्तै छ ।

कांग्रेसले कास्की क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कृष्णबहादुर केसी, गुरुप्रसाद बराल, सुदीपमोहन भट्टराई, जीवन परियार, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, वीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, होमबहादुर बसौला (विमल) सुनिलकुमार गुरुङ, किशोरदत्त बराल, चतुराखर अधिकारी, सरस्वती गुरुङ, गगनकुमार थापा र धनबहादुर थापाले क्षेत्रीय समितिमा निवेदन दिएका छन् ।

महामन्त्री गगन थापाले उक्त क्षेत्रबाट उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् भने सहमहामन्त्री जीवन परियारलाई प्रत्यक्षभन्दा पनि समानुपातिक उम्मेदवार बन्दा सजिलो हुने बताइएको छ । केन्द्रीय सदस्य गुरुप्रसाद बराल, जिल्ला सभापति किशोरदत्त बराल र गत निर्वाचनमा पराजित कृष्णबहादुर केसी पनि यो निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी हुन् । अन्ततः यो निर्वाचन क्षेत्रबाट जिल्ला सभापति बरालको उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ ।

त्यस्तै कास्की क्षेत्र नं. १ मा नेकपा (एस)ले पनि दावी गरेको छ । नेकपा (एस)बाट चुडामणी जंगली र श्रीनाथ बराल आकांक्षी देखिएका छन् ।

कास्की क्षेत्र नं. २ मा २०७४ सालको निर्वाचनमा एमालेका रविन्द्र अधिकारी विजयी भएका थिए । उनको दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा उनकै श्रीमती एमालेकी विद्या भट्टराई निर्वाचित भएकी थिइन् । यसपटक पनि भट्टराई नै एमालेबाट उम्मेदवार बनाउने सम्भावना बलियो छ ।

कांग्रेसले २ नम्बर क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छैन । यद्यपि आधा दर्जन बढी आकांक्षी देखिएका छन् । नेताहरु देवराज चालिसे, गुरु बराल, बिन्दा राना, सोभियत अधिकारी, विरेन्द्र विजुक्छे, बिन्दुकुमार थापा, विश्वशंकर पालिखेलगायतले आकांक्षा राखेका छन् ।

यो निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट राजुकाजी गुरुङ पनि उम्मेदारका रुपमा अगाडि आएका छन् भने नेकपा (एस)का तुलबहादुर गुरुङले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको दावी गरेका छन् ।

कास्की क्षेत्र नं.३ मा २०७४ को निर्वाचनमा एमालेका जगतबहादुर सुनार (विश्वकर्मा) विजयी भएका थिए । सुनारले कांग्रेसका शुक्रराज शर्मालाई ८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । यसपटक पनि सुनारले एमालेबाट टिकट पाउने सम्भावना बलियो छ भने कास्की क्षेत्र नं. ३ बाट कांग्रेसले मनोज गुरुङ, गंगाधर पराजुली, बाबुराम आचार्य, आसबहादुर गुरुङ, ललित गुरुङ, रामचन्द्र त्रिपाठी, पशुपति भट्टराई, दिपक गुरुङ र ई. यमकृष्ण पौडेलको नाम सिफारिस भएको छ । यो क्षेत्रबाट क्षेत्रीय सभापति मनोज गुरुङ कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने सम्भावना बलियो छ ।

दुई पक्षीय भिडन्त हुने कास्कीमा घात अन्र्तघात नहुने हो भने तीनवटै क्षेत्र कांग्रेसको पक्षमा आउन सक्छ । यदि कांग्रेसले साझेदारलाई एउटा दिएर दुईवटा आफूसँग राख्यो भने गठबन्धन बलियो हुने देखिन्छ । गठबन्धन बलियो हुनु भनेको एमाले पराजयको बाटोमा जानु हो । त्यसो त घात अन्र्तघातको राजनीतिबाट एमाले पनि अछुतो छैन, पिएस गुरुङ र खगराज अधिकारीबीचको द्वन्द्व स्थानीय निर्वाचनमा समेत छताछुल्ल भएको देखिएको हो ।