काठमाडौँ । श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित भएका छन् । शनिवार काठमाडौँको माइतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै आन्दोलित भएका हुन् ।
उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन् । प्रदर्शनरत एमबिबिएस उत्तीर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । एक वर्ष काम गरेर मात्र एमडिको अध्ययन गर्न पाइने तर आफूजस्ता चिकित्सकहरू राम्रो अंक ल्याएपनि नेपालको उच्च शिक्षामा रहेको शोषणका कारण एमडि अध्ययन गर्न नसकेको बताए ।
चिकित्सकहरूले लगातार ३६ घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा दुई दिन बिदा दिइएको समयमा पनि एक दिन पनि आफूहरूलाई बिदा नदिइएको भन्दै आपत्ति जनाए । मेडिकल माफिया र केही शिक्षण अस्पतालहरूको आम्दानीको श्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उनको जिकिर छ ।
देशमा सरकार, मन्त्रीहरू फेरिएर काँग्रेस, कम्युनिष्टबाट जेन–जी र बालेनको सरकार आएपनि चिकित्सकहरूको समस्या जनको त्यहीँ रहेको भन्दै दुःख व्यक्त गरे । अधिकतम दिनमा १२ घण्टाको ड्युटी र हप्तामा एक दिन बिदा होस् भन्ने साधारण माग आफूहरूको रहेको उनको भनाइ छ ।
उनले भने ‘नेपालमा एमबिबिएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । एक वर्ष काम गरेर मात्र एमडिको अध्ययन गर्न पाइन्छ । तर म यस्तो एक चिकित्सक हो । जसले बारम्बार नेपालको परीक्षामा राम्रो अंक ल्याए पनि नेपालमा एमडि पढ्न सकेको छैन ।’
प्रदर्शनरत प्रशिक्षार्थी चिकित्सकहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्, मलाई बोल्न दे सरकार, स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन, डाक्टरको ३६ घण्टे ड्युटी खारेज गर, प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर, सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोइ सुत्केरी बिदा रु रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया