नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन बहुमतले जस्ताको त्यस्तै (हुबहु) पारित भएको छ ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधि सभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । 

अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी मान्यता पाउनेछ ।

यसअघि २४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधि सभाबाट साउन ६ र राष्ट्रिय सभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरेकी थिइन् ।