आसिफको शतकमा नेपालको सानदार जित

आसिफको शतकमा नेपालको सानदार जित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो । केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफले १ सय १० रनको शतकीय इनिङ खेले । उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए ।

केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १/१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए ।

आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए । केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो । तर, पाँचौं विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए ।

यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ । त्यस्तै सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।