मेयर बालेनलाई हिरोइजमको आरोप

मेयर बालेनलाई हिरोइजमको आरोप

बालेनका १०० दिन : आशाको दियो बल्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औँ दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरीतका डिजिटल र होर्डिङ बोर्डहरू पनि हटाउन थालेको छ ।

सहरका अवैध संरचना हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरू सहरहरूमा पनि फैलिएको छ । स्वतन्त्र उम्मेदवारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले सुरुमा कानुन हातमा लिएर ‘हिरोइजम् देखाएको आरोप पनि खेपेका थिए । तर १०० दिन पुग्दा बालेनले आशा जगाउने सुरुवात गरेको देखिन्छ ।

बजेटमा सकारात्मक सुरुवात
मेयर बालेनले निर्वाचन अभियानको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याए । उनले आफ्नो घोषणा पत्रमा नेवा: समुदायमा प्रचलित घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम बजेटमा समेटे ।

काठमाडौँ महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायत कार्यक्रम पनि उनका चुनावी वाचा हुन् । नीति तथा कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरूको घरैमा स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम पनि बालेनको घोषणापत्रमै थियो । यी सबै कुरा महानगरको बजेटमा समेटिएका छन् ।

मेयर बालेन साहले महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मत सम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याए ।

बन्द रहेका ब्रुमरहरु पनि यसबिचमा सञ्चालनमा आए भने दमकल पनि थपिएको छ ।काठमाडौँमा हुने जात्रा, पर्वहरूलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बुँदा नीति तथा कार्यक्रममा छ । बजेटमा घोषणा भएअनुसार काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध रहेका विश्वका १८ महानगर र सार्क राष्ट्र राजधानी महानगरका प्रमुखहरूलाई इन्द्रजात्राका अवसरमा २४ भदौमा आमन्त्रण गरिएको छ ।

बजेटमा घोषणा भएअनुसार महानगरपालिकाका सबै कार्यालयमा सिसिटिभी राख्ने काम सुरु भएको सूचना अधिकारी वसन्त आचार्यले बताए ।

‘फोहोरको राजनीति’ चुनौती
मेयर बालेनले १०० दिनमा भोगेका सबभन्दा चर्को चुनौती भनेको फोहोर व्यवस्थापन हो । अघिल्ला मेयर विद्यासुन्दर शाक्यले फोहोरको समस्यालाई बेवास्ता गर्दा बालेनले निर्वाचित भएको पहिलो दिनदेखि नै यो चुनौतीको सामना गर्न पर्‍यो ।

फोहोरको समस्या समाधान नगरी माला, खादा नलगाउने बताएको बालेनले सुरुको करिब दुई महिना मुख्यतः फोहोरकै मुद्दामा अल्झिन पर्‍यो । उनले सिसडोल र खास गरेर बन्चरेडाँडाबासीसँग गरेका सम्झौता पूरा गर्ने बाचा गरेपछि हाललाई समस्या समाधान भएको छ । फोहोर उठाउन नसक्दा केही समय मेयर साहको आलोचना भएको थियो ।

उनले वैज्ञानिक ढङ्गले फोहोर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुटाएर कुहुनेबाट मल बनाउने कार्यक्रम बजेटमा ल्याएका थिए । अहिले फोहोर ढुवानी मै समस्या भएकोले काठमाडौँका केही वडामा मात्र फोहोरको वर्गीकरण गर्न सम्भव भएको महानगरपालिका बताउँछ ।

आलोचना पनि
१०० दिनको अवधिमा उनको मेयर बालेनको प्रशंसासँगै आलोचना पनि भएको छ । यो अवधिमा महानगरपालिकाले पत्रिकामा सूचना निकालेको भन्दै फुटपाथ व्यापारीदेखि सडकमा मागेर गुजारा गर्नेसम्मलाई रोक लगाएको छ ।

सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय, कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न महानगरले रोक लगाएको छ ।

बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र र सीता आचार्य दम्पतीलाई काठमाडौँ नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोलाई लिएर सामाजिक सञ्जालमा ठुलो बहस भएको थियो । बहसमा महानगरपालिकाको चर्को आलोचना भएको थियो ।

नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन सर्वोच्च अदालतको अतिरिम आदेश अवरोध भएपछि सामाजिक सञ्जालमा मेयर बालेनले लेखेको स्ट्याटसले उनलाई मानहानिको मुद्दा लागेको छ । महानगरले डोजर चलाएको अल्फा बिटाका सञ्चालकले पनि कानुनी लडाइँ लड्ने बताएका छन् ।

मेयर बालेनलाई सुरुवाती दिनमा जनप्रतिनिधिहरूसँग समन्वय नगर्दा केही असहज स्थिति पैदा भयो । एउटा कार्यपालिका बैठकमा नगर सभामा प्रस्तुत हुने विषयका बारेमा वडाध्यक्षहरूले प्रश्न गरेपछि विवाद भएको थियो ।

कार्यपालिका बैठकमा उनले कार्यपालिका सदस्यहरूसँग छलफल नगरी निर्णय गरेको भन्दै आपत्ति प्रकट भएपछि पछिल्लो समय एजेन्डामा छलफल हुन थालेको छ ।