सुदूरपश्चिम र मध्यपश्चिममा गौरा पर्व मनाइदै

सुदूरपश्चिम र मध्यपश्चिममा गौरा पर्व मनाइदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउछन् ।

यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् ।