सात दिनभित्र कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको पत्र, नतिरे कारबाही

सात दिनभित्र कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको पत्र, नतिरे कारबाही


ग्लोब नेपाल
108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्र पठाएको छ।

आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो । महानगरको राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले पत्र काटी सात दिनभित्र मनोरञ्जन कर तिर्न भनेका हुन्।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा उक्त क्यासिनोले पटक पटक ताकेता गरे पनि हालसम्म कर नतिरेको विभागीय प्रमुख अधिकारीले बताए। 

आव २०७५/०७६ देखि हालसम्म कर नबुझाएकोले प्रदेश आर्थिक ऐनले तोकेको दररटेमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत पत्र प्राप्त भएको मितिले ७ दिनभित्र बबरमहलमा रहेको विभागमा बुझाउन महानगरले क्यासिनोहरुलाई भनेको छ। 

कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरिने र सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने उल्लेख गरिएको छ।