काठमाडौं । नेकपा एमालेबाट मुख्यमन्त्री (हाल पूर्वमुख्यमन्त्री) भएका छ जना कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कतै पनि उम्मेदवारका लागि सिफारिसमै परेनन् ।
बागमन्ती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नलडने भएका छन् । यसअघि नै उनले यस पटक चुनाव नलड्ने घाेषणा गरिसकेका छन् । बागमतीकै पूर्वमुख्यमन्त्री तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रका लागि सिफारिसमा परेकी छैनन्।
यसैगरी प्रदेश १ का पूर्वमुख्यमन्त्रीहरु शेरधन राई र भीम आचार्य पनि चुनावमा उठ्ने नउठ्ने केही टुंगो लागेकाे छैन् । यता, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका महासचिव शंकर पोखरेल यस पटक संघीय संसदमा आउने तयारीमा छन् । उनी दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । दाङ- २ नम्बर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पोखरेलको एकल नाम सिफारिस गरेको हो ।
यसैगरी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशमै रहने तयारी गरेका छन् । उनको नाममा लमजुङ प्रदेश ‘ख’ का लागि सिफारिस भएको छ । यसअघि पनि गुरुङ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया