‘जनता कांग्रेससँग रहे, तर कांग्रेस जनताको भएन’

‘जनता कांग्रेससँग रहे, तर कांग्रेस जनताको भएन’



नेपाली कांग्रेसको ‘जनतासँग कांग्रेस’ अभियानका सम्बन्धमा एक प्रबुद्ध, पुराना र इमान्दार कांग्रेसीको टिप्पर्णी थियो– ‘जनता सधैं कांग्रेससँग भए, रहे तर कांग्रेस कहिल्यै जनतासँग जोडिएन सकेन ।’ हरेक आन्दोलनमा, अभियान र आग्रहमा नेपालीहरुले नेपाली कांग्रेसलाई साथ दिए तर कांग्रेसले जनताको आश, अपेक्षा र चाहनालाई सम्बोधन गर्न सकेन, लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई संस्थागत गर्न चाहेन, मूल्य मान्यताको राजनीति गर्ने निष्ठा र इमान भएका प्रतिबद्ध र इमान्दार समर्थक र सुभेच्छुकलाई कही स्थान र भूमिका दिएन । हुँदाहुँदा तस्कर, माफिया, डन, ठेकेदार, विचौलियालाई मूल प्रवाहिकरण गरेर सत्तामुखी मात्र होइन, नाफामुखी राजनीतिको चँगुलमा फस्न पुग्यो ।

कठिन दिनमा संघर्ष गरेका, साथ दिएका र सहयोग पु-याएका नेता र कार्यकर्ताहरु सत्तामुखी र स्वार्थमुखी नेतृत्वको आँखाका कसिङ्गर बन्ने स्थिति विकसित भयो । किनबेच, लेनदेन, भागवण्डा, हिसाबकिताब मिलाउन सक्ने, हँ मा हँ गर्न सक्ने, चाकरी र चाप्लुसी गर्न खप्पिस, अयोग्य, अक्षम र अर्थोपार्जनको व्यवसाय बनाउन सक्ने खुबी भएका व्यक्तिहरु राजनीतिमा आकर्षित हुने वातावरण निर्माण पो भयो । लोकतान्त्रिक व्यवस्थामा जनतासँग प्रत्यक्ष जोडिनु पर्दछ र त्यसकै निम्ति हामीले राजनीति गरेको हो भन्ने विश्वास दिलाउन नसक्ने कांग्रेस नेतृत्वले चलाएको ‘जनतासँग कांग्रेस’ अभियान विरोधाभासपूर्ण देखियो ।

पद प्राप्तिका लागि कुनै पनि हर्कत गर्न सक्ने, गरेका तथा त्यो पृष्ठभूमिका व्यक्तिहरु नै मूलप्रवाहमा देखिन्छन् । सम्भवतः इमान्दार र निष्ठावान मानिस राजनीतिमा आउन सक्ने वातावरण बन्दैन । वडा तहदेखि संघीय तहसम्मको अवस्था, क्रियाशील पात्र र प्रवृत्ति तथा नेतृत्वको तौरतरिका देख्दा राजनीति सम्पूर्ण किसिमले अपराधिकरण र व्यापारीकरण भएको छ । थोरै हिस्सा गुट र गिरोहले प्राप्त गरे पनि त्यसले दासत्व स्वीकार गर्नुपर्ने देखिन्छ । स्वतन्त्र रुपले अभिव्यक्त गर्न सक्ने, विचार प्रवाहको क्षमता भएको विवेक प्रयोग गर्ने व्यक्ति त्यहाँभित्र अटाउन र समेटिन सक्ने स्थिति देखिँदैन ।

घोषित संघीय र प्रदेश निर्वाचन प्रयोजनका लागि उम्मेदवार सिफारिस गर्दा मोटो रकम असुलउपर गरेको देखियो । हिजोदेखि पार्टीमा क्रियाशील भएका, आम्दानीको श्रोत नभएका जेलनेल बसेका इमान्दार व्यक्तिहरुको नाम सिफारिससमेत भएन भन्ने सुनिन्छ, देखिन्छ । रकम बुझाउन नसकेको कारणले सिफारिस भएन रे । व्यापार व्यवसाय नगरेका, अर्को आर्थिक श्रोत नभएका, हप्ता महिना असुल्ने पेशा नअपनाएका, ठेक्कापट्टा, सरुवा बढुवामा नलागेका नेता कार्यकर्ताहरुको नाम सिफारिससम्म नहुनु दुर्भाग्यको विषय हो । पार्टी केन्द्रले अतिरिक्त शुल्क नाम सिफारिसका लागि नलिनु भन्ने पत्राचार गरे पनि त्यो कार्यान्वयन भएन । यो वा त्यो वहानामा रकम असुल्ने काम गरियो ।

टिकट खरिद गर्ने, बिक्री गर्ने र रकम नै खर्च गरेर मत पनि किनेर नै जित्ने अभियानमा संलग्न नेता तथा कार्यकर्ताहरु कसरी जनतासँग जोडिन्छन ?

रकम बुझाएर नाम सिफारिस गराउने र त्यसको प्रचार अनलाइन, सामाजिक सञ्जालमा गराएर आफ्नो विजय भएको सन्देश प्रवाह गर्ने कामले स्वस्थ्य प्रतिस्पर्धाको सामान्य मर्यादा पनि कायम नभएको देखिन्छ । जसरी नेतृत्व तहमा रहेकाहरुले पार्टीको टिकट बेचिरहेका छन् त्यसरी नै जिल्लास्तरका नेताहरुले पनि खरिद बिक्रीको मोलमोलाई नाम सिफारिसदेखि नै सुरु गरेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि पालिका प्रमुखसँग रकम उठाइएको थियो । अहिले संघीय र प्रदेशको प्रत्यक्ष र समानुपातिक नाम सिफारिस गर्दा र गराउँदा पनि रकम लेनदेन भएको समाचार सार्वजनिक भएको छ ।

टिकट खरिद गर्ने, बिक्री गर्ने र रकम नै खर्च गरेर मत पनि किनेर नै जित्ने अभियानमा संलग्न नेता तथा कार्यकर्ताहरु कसरी जनतासँग जोडिन्छन ? ती पुराना कांग्रेसीले भनेजस्तै कांग्रेसलाई जनताले त साथ दिए तर जनताले कांग्रेसको साथ पाए त ? यसै किसिमले प्राप्त गर्न सक्छन् ? यस्तो महँगो निर्वाचन इमान्दार नेता तथा कार्यकर्ताले लड्न सक्छन्, मिल्छ ? निर्वाचित व्यक्ति जसको सम्बन्ध व्यापारीसँग, दलाल, तस्करसँग, विचौलियासँग, डन र ठेकेदारसँग छ, तिनीहरु सक्छन् कि त अपरादर्शी रुपले राज्यलाई दोहन गरेका अकूत सम्पत्ति बनाएकाहरु मात्र निर्वाचनमा उम्मेदवार हुन योग्य हुन्छन् । यस्तो राजनीतिक परिवेश बनाउने कांग्रेस कसरी जनतासँग हुनसक्छ ? गम्भीर प्रश्न खडा भएको छ ।

यो केवल निर्वाचनमा उम्मेदवार हुने विषय मात्र होइन, कस्तो नीति, निर्माण र कार्यक्रम बनाउने, कस्तो र कोप्रति उत्तरदायी र जवाफदेही सरकार बनाउने भन्ने अहँ प्रश्न हो । देश विदेश शक्तिकेन्द्रका प्रतिनिधिहरुको त लेखाजोखा नै भएको छैन । उनीहरुले जिएको जीवन हेर्दा लाग्छ कि उनीहरु ठूला ठूला व्यापारी र निर्माण व्यवसायी हुन् । अथाह आम्दानीको श्रोत छ र त यस्तो महँगो र लोभलाग्दो जीवनशैली छ । देशभन्दा प्यारो विदेशी शक्तिकेन्द्र हुने र बफादारिता अन्यत्र नै हुनेहरुको फूर्तिफार्ति र दादागिरी हेरिनसक्नु छ । नेतृत्वलाई नै प्रभावमा पारेर निर्वाचन हराउने, जिताउनेदेखि मन्त्री, प्रधानमन्त्री बनाउने र महत्वपूर्ण र सम्वेदनशील क्षेत्रमा नियुक्ति दिने दिलाउने हैसियत राख्ने त्यस्तो स्वार्थ समूह आफूलाई नै स्र्वाधिकार सम्पन्न शक्तिशाली ठान्छन् ।

यस्ता अनगिन्ती डनहरु उत्पादन गरेको कारखाना कसरी लोकतान्त्रिक होला र भुइमान्छेहरुको पनि दिन आउँला ? हजारौं योग्य प्रतिभालाई कलिलै उमेरमा उच्च शिक्षाको नाममा विदेशिन बाध्य बनाएर, रोजगारीको नाउँमा लाखौं युवाहरुलाई पलायन गराउँदै सीमित स्वार्थ समूहको सेवामा समर्पित राज्य व्यवस्था कसरी जनतासँग जोडिन्छ ? किन यस्तो स्वाङ र ढुवाङ पिट्नु ?