भारतको लगातार दोस्रो हार

भारतको लगातार दोस्रो हार

यदि पाकिस्तानले आज अफगानिस्तानमाथि जीत निकाले भारतको फाइनल यात्रा समाप्त



युएइ । जारी टी-ट्‍वान्टी एशियाकप अन्तर्गत गएराती सम्पन्न खेलमा भारत श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले लगातार दोस्रो जीत निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतको यो हारसँगै टी-२० एशियाकपको फाइनलमा पुग्ने सम्भावना झिनो बनेको छ । टी-२० एशियाकपको सुपर फोरको दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।

यसअघि पनि भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अब भारतले सुपर फोरको अन्तिम खेल आउँदो शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्ने र पाकिस्तानले आफ्नो बाँकी दुई खेलमा हार व्यहोरेको खण्डमा मात्र भारतको फाइनलमा पुग्ने सम्भावना रहन्छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ४१ बलमा ७२ रनको सानदार पारी खेलेका थिए ।

जीतका लागि १७४ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको श्रीलंकाले १९ दशमलव ५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि भारत ६ विकेटले पराजित भएको हो ।

अन्तिम १२ बलमा २१ रन चाहिएको श्रीलंकाले १९‍औं ओभरमा भुवनेश्‍वर कुमारको बलमा १९ रन जोडेपछि श्रीलंकाले जीत हात पारेको थियो । पाकिस्तानले आज अफगानिस्तान विरुद्ध सुपर फोरको दोस्रो खेल खेल्दैछ । यदि पाकिस्तानले आज अफगानिस्तानमाथि जीत निकालेको खण्डमा भारतको फाइनल यात्रा समाप्त हुनेछ ।