रहिनन् बेलायतकी महारानी एलिजावेथ

रहिनन् बेलायतकी महारानी एलिजावेथ



लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बिहानैबाट स्वास्थ्य स्थितिमा समस्या आएपछि बालमोरल दरबारमा उपचार भइरहेको थियो ।

चिकित्सकको सुपरीवेक्षणको उपचारकै क्रममा स्कटल्यान्ड बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो । २१ अप्रिल १९२६ मा मेफेयर लन्डनमा जन्मिएका महारानी एलिजावेथ द्वितीयको निधनसँगै जेठा छोरा राजकुमार चाल्र्स राजा भएका छन् ।

पछिल्लो समय स्कटल्यान्डको बालमोरल दरबारमा बस्दै आएकी महारानीको चाहनाअनुसार दरबारमै चिकित्सकले उनको उपचार गरिरहेका थिए । उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो।

उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन्।

एलिजावेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए। महारानीका रूपमा एलिजावेथले ती सबै चुनौती डटेर सामना गरिन्। उनले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राखिन्।

एलिजावेथ कुनै दिन बेलायतकी महारानी बन्लिन् भन्ने कसैले सोचेका थिएनन्। उनको जन्म सन् १९२६ अप्रिल २१ का दिन बर्कलेमा भएको थियो। उनी त्यति बेलाका राजा जर्ज पाँचौंका दोस्रो छोरा ‘ड्युक अफ यार्क’ अल्बर्टकी जेठी छोरी हुन्।

सन् १९३६ मा तत्कालीन बेलायती राजा जर्ज पाँचौंको निधनपछि उनको जेठो छोरा डेविडले एडवर्ड आठौंका रूपमा गद्दी सम्हालेका थिए। तर एडवर्डले दुईचोटि सम्बन्ध विच्छेद गरिसकेकी अमेरिकी महिला वैलिस सिम्पसनसँग विवाह गरेपछि बेलायतमा उनको तीव्र विरोध भयो। यही विरोधका कारण एडवर्ड आठौंले गद्दी त्याग गरे।

त्यसपछि एलिजावेथका पिता ‘ड्युक अफ यार्क’ जर्ज छैठौंका रूपमा गद्दीमा बसे। तर उनलाई राजा बन्न कुनै रूचि थिएन।

पिताको गद्दी आरोहणपछि १० वर्षकी एलिजावेथ त्यसका उत्तराधिकारी भइन्। उनलाई त्यति बेलादेखि नै आफ्नो भावी जिम्मेवारीको अनुभूति हुन थालेको थियो। यो अनुभवले उनलाई पछि राजकाज सम्हाल्न धेरै सहज भयो।

त्यो बेला हिटलरको शक्ति तीव्र गतिले बढ्दै थियो। युरोपमा बढ्दो तनाव र ध्रुवीकरणबीच राजा जर्ज छैठौंले आफ्नो परिवारसहित देशव्यापी भ्रमण गरे। एलिजावेथ पितासँगै भ्रमणमा गएकी थिइन्। उनको निम्ति त्यो यात्रा राजनीति बुझ्ने ठूलो अवसर साबित भयो।

एलिजावेथले स्कुल गएर औपचारिक शिक्षा लिएकी थिइनन्। उनी र उनकी बहिनी मार्गरेटको शिक्षादिक्षा दरबारमै भएको थियो। एलिजावेथ आफ्ना पिता र हजुरबुवाकी एकदमै प्यारी थिइन्। उनलाई माया गरेर ‘लिलिबेट’ भनिन्थ्यो। उनलाई सानोमा आफ्नै नाम एलिजावेथ उच्चारण गर्न गाह्रो हुन्थ्यो।

एलिजावेथले छ वर्षको उमेरमै घोडसवारी सिकेकी थिइन्। घोडसवारी सिक्दा उनले आफ्ना गुरूलाई भनेकी थिइन्, ‘मलाई गाउँमा बस्ने सामान्य केटी बन्न मन छ र गाउँमा गएर थुप्रै कुकुर र घोडा पाल्न मन छ।’

सानैदेखि एलिजावेथ एकदमै जिम्मेवार स्वभावकी थिइन्। बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल उनको स्वभावबाट प्रभावित थिए। चर्चिलले महारानी एलिजावेथबारे भनेका थिए, ‘कम उमेरमै पनि उनको स्वभाव एकदमै ओजपूर्ण र रवाफिलो छ।’

कहिल्यै स्कुल नगए पनि एलिजावेथले धेरै भाषा सिकेकी थिइन्। उनले बेलायतको संवैधानिक इतिहासमा राम्रो अध्ययन गरेकी थिइन्। एलिजावेथ र उनकी बहिनी मार्गरेटले आफ्ना समकालीन केटीहरूसँग राम्रो मेलजोल राख्न सकून् भनेर बकिंघम दरबारका नाममा गर्ल्स गाइड कम्पनी स्थापना गरिएको थियो।

मतदान गर्न

बाँकी