भक्तबहादुरको जीवन: साइकल मर्मतमै ३७ वर्ष

भक्तबहादुरको जीवन: साइकल मर्मतमै ३७ वर्ष



सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् । यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन् । उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर रहेको छ ।

सुरुमा यस क्षेत्रमा उनको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ रहेका छन् । कर्मका पुजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेप्नेका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन् । उनको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन ।

“देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ”, भक्तबहादुर बताउँछन् । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ ।

भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए । उनी सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्थे । “ सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो”, भक्तबहादुर भन्छन् ।

भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । सामान्य परिवारमा जन्मिनुभएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिएनन्। उनले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिके । भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे । “यही मेरो स्थायी काम भयो”, उनले सुनाए ।

जुँघा पालेका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छन् । “बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो”, उन बताउँछन् । निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिन्छन् । उनको घरमा पहिले छ जनाको परिवार थियो । दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको साथै अरु कुनै पैसा आउने बाटो नभएको भक्तबहादुरले उल्लेख गरे ।

भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक रु १५ हजार जति कमाउन्छन् । यसैबाट घर परिवार चलाउन्छन् । उनले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन् । भक्तबहादुर त्यही घरमा दुःख सुख बस्छन् । मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउँदैनन । “मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो”, उनी भन्छन ।

लामो समयदेखि साइकल मर्मतको सीपमा लाग्नुभएका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् । चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उनले उल्लेख गरे । साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे। भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रुचाउँछन् । उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउछ ।