दार्चुला । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।
नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली-३ की मानमती कार्की, महाकाली-२ का नन्दराम बोहरा, नौगाड- २ का मोहनराम पार्की, नौगाड-१ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर चार जनाको र बाढीले बगाएर एक जनाको मृत्यु भएको हो । बाढी र पहिरोमा अझै सात जना बेपत्ता छन् ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार र बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन् ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया