काठमाडौं । नेपाली कांग्रेस दोलखाबाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेतृ रोचना उप्रेती प्रदेश सभा अन्तरगत समानुपातिक तर्फ नाम सिफारिसमा परेकी छन् ।
लोकप्रिय मतलाई समेत आधार मानेर पार्टीले उप्रेतीलाई पहिलो नम्वरमा सिफारिस गरेको हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएकी उप्रेती समानुपातिकको पहिलो नम्वरमा पर्नुलाई उप्रेती परिवारको राजनीतिक लिगेसीसँग पनि जोडेर हेरिएको छ ।
राजनीतिक रुपमा चतुर र शक्ति केन्द्रलाई समेत सजिलै मिलाउन जान्ने उप्रेतीको क्षमताकै कारण पनि उनले समानुपातिक तर्फ टिकट ल्याउनेमा दुई मत नरहेको दोलखा कांग्रेसजनको आंकलन छ । तथापि टिकट ल्याएको खण्डमा उप्रेती परिवारको इतिहासका कारण पनि उनलाई जित्न समस्या नपर्ने जानकारहरु बताउँछन् ।
उप्रेती परिवारको इतिहास
दोलखा नेपाली कांग्रेसको राजनीतिमा उप्रेती परिवार प्रत्यक्ष रुपमा पार्टी स्थापनाकालदेखि नै जोडिएको इतिहास छ । पार्टी प्रति निष्ठापूर्वक अनन्तकालसम्म लागेका उनका बुवा निलप्रसाद उप्रेतीले राजनीतिमा धेरै लगानी गरेपनि कांग्रेसबाट अहिलेसम्म कुनैपनि लाभको पद लिएनन् । त्यही परिवार भित्रको सदस्य हुन् रोचना ।
हजुरबुवा कृष्णगोपाल उप्रेती २०१५ सालमा प्रजा परिषद्का उम्मेदवार मृगेन्द्र शमशेर राणासंग पराजित भएका थिए । दोलखामा कृष्णगोपालहरु कांग्रेसको सस्थापकको रुपमाा चिनिन्छन् । भीमबहादुर तामाङलाई उनै कृष्ण गोपालले पार्टी सदस्यता दिएका थिए ।
पिताजीको राजनीतिक मार्गदर्शनलाई पछ्याउँदै तत्कालिक कांग्रेस सभापति विश्वशरप्रसाद कोइराला निकट रहेका रोचनाको बुवा निलप्रसाद विपिसंगै २५ सालमा प्रवासी जीवन जिउन बाध्य भए । भारतको विभिन्न स्थानमा रहेर विपिसंगै संगठन विस्तारमा लागेको इतिहास छ । निलप्रसाद विपिसंगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मार्शलजुलुम शाक्य लगायतका धेरै नेताहरुको प्रिय पात्र समेत थिए । अंग्रेजीमा राम्रो दख्खल भएका निलप्रसादले जेलभित्रबाट नै स्नातकसम्मको अध्ययन पुरा गरेका थिए । जेल भित्रै रहँदा डा. रामशरण महत र उनले संगैका साथीहरुलाई अध्यापन गराउने कामसमेत गरेका थिए ।
पछि २०२९ सालमा नेपाल फर्किएर निलप्रसाद विद्यार्थीको अग्रणी भुमिकामा रहेर पञ्चायत बिरुद्ध लाग्दा २०३० सालमा हतियार सहित गृह जिल्ला हालको बेतेश्वर १ को थुम्की सल्लेरी जंगलबाट पक्राउ गरेका थिए । त्यसपछि त्यतिखेरको पञ्चे सरकारले उनलाई नख्खु जेल चलान गरेका थिए ।
पञ्चायत विरुद्ध आन्दोलन छेड्दा निलप्रसादले संगैको सहकर्मी अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत, भिमबहादुर तामाङ, प्रदीप गिरि, बलबहादुर केसी, ध्यानगोविन्द रञ्जित र शिवबहादुर खड्का लगायतका धेरै नेताहरुसंग कठोर यातना सहित संगै जेल जीवन ब्यतित गरेको इतिहास छ ।
यतिमात्र होइन कांग्रेस भएबापत तत्कालिन पञ्चहरुले उनको दाजु भानुभक्त उप्रेतीलाई २०३२ सालमा कठोर यातना सहित ४ वर्ष पर्सा जेल चलान गरेका थिए । त्यस्तै कान्छो भाइ योगप्रसाद उप्रेतीको टाउकोको मुल्य २५ सय तोकिएपछि ८ वर्ष प्रवासमा बसेका थिए । अहिलेको बद्लिदो राजनीतिक परिस्थितिबाट अलग भएका निलप्रसाद उमेरले ७७ को हाराहारीमा छन् ।
यति धेरै पार्टीमा लगाव भएका पारिवारीक सदस्य भएकै कारण पनि रोचनालाई सांसद बनाएर न्याय गर्नुपर्ने पक्षमा केन्द्रीय नेताहरु देखिन्छन् ।
यो परिवारलाई यो पटक पार्टीले न्याय गर्नुपर्नेभन्दै एक लेवलका कार्यकर्ताहरु नेताहरुकोमा घरदैलो गरिरहेका छन् । राजनीतिक शास्त्रमा एमए, नेपालीमा एमएड र एलएलबी गरेकी रोचना आफै पनि सक्षम नेतृ हुन् ।


प्रतिक्रिया