हिजो अस्ति झैं आज पनि
पूर्व जंघार तर्दै सुर्य उदाउँछ
आँखा भरी उत्सुकता बोकेर
हत्केला भरी उज्यालो उभाउँछु
मेरो परेली भरी
बिहान मिठो स्पर्श पस्कन्छ ।
सूर्य आगमन–अवसानसँगै
जिन्दगीको पूर्णबिराम अलिअलि नजिकिदै जान्छ ।
उज्यालोको अन्त्यसँगै
‘भोलि’ हुने यथार्थता उनेर मन भरी
नियतिको फाइलमा
म अस्पष्ट योजना कोर्छु
सोचाइहरु कल्पनाको क्यानभासमा
रङ्गिन दिनहरुको चित्र कोर्छन्
तर…
सपना फगत सपना
कल्पना मात्र कल्पना
समयको चक्रमा
‘म’ मान्छे एउटा रोवर्ट बाँचिरहेछु
समयको कोखबाटै जन्मिएको
विचरो ‘म’ मान्छे
समयकै काखमा मरिरहेछु ।
उदाउँनु र अस्ताउँनुको यथार्थताको फेर समाउँदै
चुपचाप चुपचाप अविरल बगिरहेछ समय ।
प्रत्येक पल पिडा मर्छ, नयाँ खुसी जन्मन्छ
खुशी मर्छ, नयाँ पिडा जन्मन्छ
उध्रेको जिन्दगीको प्वाल प्वालबाट
‘म’ क्रमशः चुहिँदै चुहिँदै
निख्रेका तन्नेरी सपना र खुशीहरु सुम्सुम्याउँछु ।
नाफा नोक्सान हिसाब खातामा
जिन्दगीको प्रत्येक बिहान
क्रेडिट चढाउने गर्छ समय ।
खुशी र पिडासँगै
उदाउँनु र अस्ताउँनुको फेर समाउँदै
समयको सडकमा
जिन्दगीको रथ बेप्रवहा गुडिरहेछ
जसरी वेलगाम घोडा तुफान दौडिरहन्छ ।
–ब्यासनगर, तनहुँ
प्रतिक्रिया