पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।
पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन् । यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे । ‘माधव नेपालको पार्टीले सिट ल्याएर संसदमा पुग्दैन,’ उनले भने, ‘चुनावसम्म माधव नेपालसँग कार्यकर्ता रहँदैन।’
ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए । मतदाताले नेपालको पार्टीलाई भोट दिन आवश्यक नरहेको समेत उनले बताए। ‘माधव नेपाललाई के देखेर, किन, कुन कामका लागि भोट दिने ?,’ उनले भने, ‘एमालेको सरकार हटाएर काम नलाग्ने भ्रष्ट सरकार बनाइपाम भनेर अदालत गएर परमादेश मागेकाले ?’
प्रतिक्रियावादीसँग मिलेर माधव नेपालले एमालेलाई तथानाम गाली गरेबापत उनले भोट नपाउने ओलीको टिप्पणी छ। उनले भने, ‘माधव नेपालले भोट पाउनेवाला छैन, माधव नेपालको पार्टी १ प्रतिशत थ्रेस होल्ड पास गरेर राष्ट्रिय पार्टीका रूपमा आउन सक्दैन।’ देश बर्बाद पार्ने पात्र माधव नेपाल रहेको भन्दै ओलीले कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गरे।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले भने यसपटकलाई इज्जत जोगाउने बताए । जनयुद्धका नाममा हजारौं मानिसलाई अंगभंग, अपांग र हत्या गरेको आरोप लगाउँदै ओलीले प्रचण्ड राष्ट्रिय समस्या रहेको दोहोर्याए।
‘प्रचण्ड भनेको राष्ट्रिय समस्या हो भनेर २०५६ सालमै भनेको थिएँ, अहिले पनि समस्या हो,’ उनले भने, ‘यता जाँदा फाइदा छ कि कता जाँदा फाइदा हुन्छ त्यतिमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन।’


प्रतिक्रिया