काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठक आज बस्दैछन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरू हुने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकको सुरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् ।
त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिवेदनसहित पशु तथा पशुसेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । छलफल सकिएपछि विधयेक आजै पारित गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया