अछाममा पहिरोमा परी १४ जनाको मृत्यु, ६ बेपत्ता

अछाममा पहिरोमा परी १४ जनाको मृत्यु, ६ बेपत्ता


ग्लोब नेपाल
405
Shares

अछाम । अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १४ जनाको ज्यान गएको छ भने थप ४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नं.–६ बीरपथमा पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको हो ।

पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चार जनाको शव निकालिएको प्रहरीले जनाएको छ । उक्त पहिरोमा पुरिएर थप तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ ।

त्यसैबीच पहिरामा पुरिएका मध्ये कमलवजार नगरपालिका वडा नं.–६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका ८ जनाको शब फेला परेको छ । उता तुर्माखाँद गाउँपालिका वडा नं.–५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका ४ जनाको शव निकालिएको छ भने थप ५ जना पहिरोमै पुरिएका छन् ।

स्थानिय प्रताप शाहीले घटनास्थलबाट दिएको जानकारी अनुसार शनिवार विहान करिव पौन ४ बजे स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिदाँ उनीहरूको ज्यान गएको हो । स्थानीय वासिन्दाले ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी ३५ वर्षीया श्रीमती मनिषा शाही, १६ वर्षीया छोरी बिमला शाही र १६ वर्षीया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालेका छन् ।

बिमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । मीनबहादुर शाहीकी छोरी जानकी बिमलासँग सुत्न आएका बखत पहिरोमा परेकी हुन् । उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरा समेत पुरिएका छन् । आफु भने उनी दुई छोरा र श्रीमती सहित कामका लागि भारत पसेका छन् ।

पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीय छोरा सुन्दर शाही रहेका छन् । उनीको उद्दारका लागि स्थानीय वासिन्दा सक्रिय भएपनि निरन्तरको वर्षाका कारण उद्दारमा कठिनाइ भइरहेको स्थानीय जानकारी दिएका छन् ।