आज जितिया पर्व मनाईंदै

आज जितिया पर्व मनाईंदै


ग्लोब नेपाल
135
Shares

विराटनगर । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ ।

सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया पर्व मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए । उनले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उनले जानकारी दिए ।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताए ।

बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ ।