काठमाडौं । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा हिजो साँझ भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको जानकारी दिए ।
आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए ।
प्रतिक्रिया