डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, एकैदिन १ हजार ५१ जना संक्रमित थपिए

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, एकैदिन १ हजार ५१ जना संक्रमित थपिए


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु संक्रमण भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ । नेपालमा वि.सं. २०६१ मा पहिलोपटक डेंगुको सङ्क्रमण देखापरेको थियो ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रहसमेत गरेको छ।