राजनीतिमा आफन्तवादको उदय

राजनीतिमा आफन्तवादको उदय



संघीय शासन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीप्रति आम मानिसले वितृष्णा व्यक्त गरेका छन् । देशको श्रोत साधनको चरम दुरुपयोग भएको, प्रभावकारी कार्य सम्पादन हुन नसकेको, आर्थिक व्ययभार मात्र परेको निष्कर्ष निकाली संघीयतासम्बन्धी प्रदेशको व्यवस्था अनावश्यक नै भएको ठम्याइ जनताको नजरमा देखिन्छ । यसतर्फ राजनीतिक नेतृत्वले मुख खोल्न सकेको छैन । जनताको असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने चेतना नभएको हो वा आफूले अवलम्बन गरेको शासन प्रणालीको ज्ञान नभएर हो, राजनीतिक दल र यसको नेतृत्व जनआवाजप्रति थोरै पनि गम्भीर र उत्तरदायी बन्न नै सकेको छैन ।

समानुपातिक निर्वाचन प्रणालीको त ‘चीरहरण’ गरेको समाचार विभिन्न समाचारपत्रहरुमा सम्पादकीयकै रुपमा आएको छ । सामाजिक सञ्जालमा त स्वस्थानी ब्रत कथाको जस्तै ‘आफन्त र सन्तानलाई खुवाउनु कोही पनि निकट मानिस नभए गंगामा सेलाइदिनु’ भनेजस्तै आफन्तहरुको भर्तिकेन्द्र बनाइएको छ, समानुपातिक प्रतिनिधिलाई । कस्तो कस्तो वर्ग, समुदाय र क्षेत्रलाई समेट्ने भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको हुर्मत लिइएको छ । श्रीमति, छोरा छोरी, भान्जा भान्जी, प्रेमिका, व्यापारी, नातेदार, ठेकेदार र डनहरुका लागि समानुपातिक उम्मेदवार बनाइएको छ । उनीहरुलाई सुरक्षित बनाएर अन्य वर्ग क्षेत्र र समुदायका व्यक्तिहरुलाई ‘डेकोरम मेन्टेन’ गर्न मात्र सुचिकृत गरिएको देखिन्छ । प्रतिनिधित्व गराउँदा विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याएका व्यक्तिहरुलाई स्थान दिइएको छैन । भागवण्डा गरेर आफन्त व्यवस्थापन गर्ने सुगम विधि बनाइएको देखिन्छ ।

प्रधानमन्त्री पत्नी, गृहमन्त्री पत्नीसम्म पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहेर प्रत्यक्ष निर्वाचन लड्नुपर्ने व्यक्तिदेखि २०४८ बाट निरन्तर सांसद र मन्त्री रहेका व्यक्तिलाई समानुपातिक सूचिमा शीर्षस्थान उपलब्ध गराइएको छ । नेतृत्व तहमा रहेका व्यक्तिहरुको आर्थिक उपार्जनको व्यवस्था बनाइ व्यापारी, ठेकेदार, डन, विचौलिया र माफियाहरुलाई समानुपातिक सूचिमा समावेश गरी पार्टीको टिकट खरिद बिक्री मात्र होइन बोलकबोल गराई बडाबड समेत भएको बजार हल्ला व्यापक नै छ । जुन उद्देश्य, लक्ष्य र आसयका साथ यो निर्वाचन प्रणाली अवलम्बन गरिएको थियो, त्यसको दुरुपयोग मात्र भएको छैन, शासन प्रणाली बद्नाम भएको छ । आफ्ना श्रीमतिलाई समानुपातिकको दुई नम्बरमा सुरक्षित गरेर गृहमन्त्री खाँडले राजनीतिमा त्याग गर्नुपर्छ भनी दिएको सन्देशलाई आम मानिसले सहर्ष स्वीकार गरी सामाजिक सञ्जालमा व्यापक बनाएका छन् । यस्तो कर्मले आगामी निर्वाचनमा पार्टीको मत निश्चय नै बढ्छ होला !

खास गरी नेपाली कांग्रेसमा असन्तोष, आक्रोस र विद्रोहको सम्भावना छ । असहयोग र अन्तरघातबाट समय समयमा आक्रान्त भएको कांग्रेस यो पटक पनि त्यसको मारमा नपर्ला भन्न सकिँदैन ।

राजनीपितक दलहरुप्रति आम मानिसको विश्वास टुटेको अवस्थामा दलभित्रै गम्भीर मतभेद देखिन्छ । त्यो मतभेद पार्टी बनाउन होइन, आफ्नो सिट सुरक्षित गर्न मात्र देखिन्छ । यति प्रतिशत हक हिस्सा हाम्रो समूहको लागि छुट्याउनु पर्छ भन्ने मागले पार्टीभित्र देखिएको÷बढेको बेथितिको सुधारको एजेन्डा बोकेको छैन । चाहना राख्ने र अन्या भयो भन्ने अधिकांश २०४८ देखि पदीय जिम्मेवारी बहन गरेकाहरु नै छन् । उनीहरु अब किन आवश्यक छ भन्ने कुनै कारण र तर्क छैन । हिजो जेल गएका, झन्डा बोकेको, योगदान गरेको, सहयोग पु¥याएकोले आजीवन प्राप्त गरिरहनु पर्छ भन्ने मान्यता छ । आफ्ना वरिपरीका अन्ध समर्थकहरुलाई भित्र्याएर आफ्नो स्थान बलियो बनाउने योजना छ । नेतृत्वमा रहेकाहरुको ध्यान जुनसुकै बद्नामी स्वीकार गर्नेतर्फ मात्र केन्द्रित छ । पार्टी बनाउने, लोकतन्त्रको आधारभूत चरित्र र मान्यतालाई स्थापित गर्ने, जनताप्रति उत्तरदायी र जवाफदेही हुने कार्यसूचि नै गायक भएको छ । विधि, विधान, सिद्धान्त, आदर्श, विचार र कार्यक्रमप्रति कसैको ध्यान दृष्टि नै रहेन ।

सत्तामा पुग्ने,। अकूत कुम्ल्याउने र त्यसकै आधारमा आफूलाई शक्तिशाली र बलियो बनाउने पुनः निर्वाचन जित्ने र पार्टीलाई कब्जामा राख्ने भन्दा अगाडिको सोच, विचार र कार्यक्रम कहिकतै ठम्याउन नै सकिँदैन । त्यो प्रवृत्तिप्रति आम मानिसको असन्तुष्टि छ । त्यो असन्तुष्टि स्थानीय निर्वाचनमा स्वतन्त्रलाई जिताएर ठाउँ ठाउँमा अभिव्यक्त भएको थियो । यो निर्वाचनमा कसरी अभिव्क्त हुन्छ यसै भन्न सकिँदैन । पाँच दलीय गठबन्धन आफै घरमराएको छ । खास गरी नेपाली कांग्रेसमा असन्तोष, आक्रोस र विद्रोहको सम्भावना छ । असहयोग र अन्तरघातबाट समय समयमा आक्रान्त भएको कांग्रेस यो पटक पनि त्यसको मारमा नपर्ला भन्न सकिँदैन । नेकपा एमालेविरुद्धको पाँच दलीय मोर्चाबन्दी भाडफाँट, भागवण्डा र लेनदेनमा मिल्न नसक्ने र मुख्य दल कांग्रेसको आन्तरिक कचिङ्गल व्यवस्थापन नहुने हो भने परिणाम कता जान्छ ? नेपालको राजनीतिक प्रणाली र दलहरुप्रतिको अविश्वासले कस्तो रुप लिन्छ यसै भन्न नसकिने स्थिति विकसित भएको छ ।

हाम्रा दुई विशाल छिमेकीहरुले हाम्रो अयोग्य र अक्षमतालाई राम्रोसँग बुझेका छन् । उनीहरुले भिन्न भिन्न किसिमले आफ्नो चासो, चिन्ता र चाहनालाई अभिव्यक्त गर्दै आएका पनि छन् । नेपालले नाकाबन्दीदेखि नाका कस्सीसम्मको पीडादायी दिन व्यहोरेको नै छ । उत्तरतिरको छिमेकीले पनि अघोषित रुपमा नाका असहज बनाएको छ । यो वा त्यो बहानामा बन्द भएको भए पनि त्यसमा हाम्रो शासकहरुको नालायकी जिम्मेवार छ । हामीले उनीहरुलाई आश्वस्त र विश्वस्त बनाउन सकेको छैनौं । उनीहरु भन्छन् कि नेपालका दलहरु भन्छन एउटा कुरा गर्छन अर्को काम । उनीहरु त्यसकारण विश्वास गर्ने अवस्थामा नै छैनन । हामीले हाम्रो आन्तरिक व्यवस्थापन त गर्नैपर्छ । हाम्रो आफ्नो सुरक्षाका खातिर कहिलेकाहिँ अप्रिय निर्णय लिनुपरेको हो भन्ने छिमेकी मित्र राष्ट्रहरुको गुनासो रहने गरेको छ । एकातिर देश मित्रको आन्तरिक असन्तोष अर्कोतर्फ उदाउँदा विश्व अर्थतन्त्रका विशाल छिमेकीहरुको अविश्वास । यी बहुआयामिक चुनौतिको सामना गर्नुपर्ने समयमा आफ्नो क्षणिक सत्ता स्वार्थबाट अभिप्रेरित भएर हामीले आगामी चुनौतिहरुको सामना गर्न सक्छौं होला त ?

नेपालको महत्व दिन प्रति दिन बढ्दै गएको अवस्थामा राजनीतिक दल र यसको नेतृत्वले लिन नसकेको वृहत्तर दृष्टिकोणको अभावले दुर्घटनामा पर्न सक्ने जोखिम देखिन्छ । भारत र चीनबीचको शक्ति संघर्ष, यसमा पश्चिमहरुको चासो, बीचमा रहेको नेपालको राजनीतिक अस्थिरता तथा अविश्वसनीय नेतृत्वको स्थिति निश्चय नै चुनौतिपूर्ण रहेको छ । नेपालले स्पष्ट अवधारणा अगाडि बढाउन नसक्ने कहिले भारत त कहिले चीन निकट नीति अवलम्बन गरेको देखिने, सत्ता स्वार्थका खातिर कुनै पनि मूल्य चुकाउन तयार विकाउ नेतृत्वको चरित्र जस्ता कमजोरीहरुमा विश्व शक्तिको प्रतिस्पर्धीमा रहेकाहरुको दृष्टि गढेको देखिन्छ । यो वा त्यो बहाना, परियोजना, सहयोग जस्ता विषयहरुले तरंगित बनाएको महसुस भएकै विषय हो ।

जनताको बलियो साथ, समर्थन र सहयोग हुनुपर्ने समयमा राजनीतिक नेतृत्वप्रति अति कमजोर विश्वास देखिनु सुखद् र सकरात्मक होइन । दलहरु (नेतृत्व) ले आफूलाई सच्चाउने समय निर्वाचन हो । तर त्यो सन्देश प्रारम्भमा नै गएन । गलत निर्णयहरु, गलत पात्रहरुको छनोट, व्यवस्था र प्रणालीको चरम दुरुपयोग, आफन्तवादको प्रत्याभूति जनता अति अलोकप्रिय र आपत्तिजनक कार्यहरुले आवश्वस्त हुने, विश्वास जगाउने र आफूलाई सच्चाउने सम्भावना समेत रहेको संकेत नदिएकोले प्रणालीकै पक्षमा उभिने जागर पनि शिथिल बनाइदिएको छ ।