एनपीएल : साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी पुग्याे प्लेअफमा

एनपीएल : साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी पुग्याे प्लेअफमा



काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ ।

लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको थियो । प्रतियोगिताको लिग चरणबाट यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुनिश्चित गरेका छन् ।

हारसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको चुनौती भने लिग चरणबाटै समाप्त भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १३३ रनको मध्यम लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।