देउखुरी । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ । घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न थालेको १९ वर्ष भयो । घोराहीमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रमा कर्मचारीको रूपमा काम गर्दा बोनस दिने चलन थियो ।
जागिर गर्दै गर्दा प्रत्येक वर्ष पाँच हजार रुपैयाँ बोनस दिने गरेको थियो । विसं २०६० को बोनसमा प्रेमबहादुरले माहुरीको एउटा घार बोनसको रूपमा माग गरे । बोनसमा पाएको एक घार माहुरीबाट सुरु गरेको उहाँसँग अहिले ९७ घार माहुरी रहेका छन् । एउटा घार माहुरीमा १० किलोसम्म मह उत्पादन हुन्छ । यसपालि ४० क्विन्टल मह उत्पादन भएको थियो । मह र माहुरी बिक्री गरेर रु १० लाख कमाइ भएको उनले बताए । खर्च कटाउँदा रु सात लाख आम्दानी भएकोे छ । धेरै मेहनत गर्नु पनि नपर्ने र धेरै खर्च पनि नहुने भएकाले यो व्यवसाय राम्रो भएको उनको भनाइ छ ।
दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरी जस्तो फूल मुख्य चरनका रूपमा भए पनि बाह्रै महिना उपलब्ध नहँुदा चरनका लागि जिल्लाबाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका चेतमान भण्डारीले १९ वर्षदेखि माहुरीपालन व्यवसाय शुरु गरेका छन् । उनले विशाल माहुरी फर्मको नामबाट माहुरीपालन गर्दै आउनुभएको छ । उनीसँग दुई सय घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु १५ लाख आम्दानी गर्दै आएको उनले बताए । तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत ५० प्रतिशत अनुदानबाट मह भण्डारणको मेसिन सहयोग पाएको उनले बताए । माहुरी जोन कार्यक्रमअन्तर्गत सङ्कलन र प्रशोधनको सहयोग पाएको भण्डारीले बताए । माहुरी पाल्न सजिलो भए पनि चरनको समस्याले गर्दा केही चुनौती छ । “गत वर्ष बर्दियाको गुलरिया माहुरी चराउन लगेको थिएँ, यसपालि कहाँ जाने भन्ने निश्चित भएको छैन”, उनले भने ।
उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार ४० किलोसम्म मह उत्पादन हुने भण्डारीको अनुभव छ । खेतबारीमा गरेको मेहनतको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उनी बताउछन् ।
माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताए । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन् । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाइएको छ । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।
नेपाल माहुरीपालक सङ्घका अध्यक्ष विष्णु श्रेष्ठले जिल्लामा मह उत्पादन भए पनि मह खानेको सङ्ख्या भने कम रहेको र महको महत्त्व बुझाउन समस्या भइरहेको बताए । यसरी उत्पादन भएको मह जिल्लामा खपत नभएपछि कृषकले बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरेका छन् । दाङमा यस वर्ष चार सय ५० टन मह उत्पादन भएकोमा २० टन मात्र बिक्री हुन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसवर्ष दाङबाट रु १२ करोड ९० लाखको मह बिक्री भएको छ । यहाँ उत्पादित मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जका सहरमा बढी जाने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । तोरीको मह रु पाँच सय, चिउरीको मह रु छ सय र रुदेलो चिउरीको मह रु सात प्रतिकिलोमा बिक्री भएको उनले बताए । “दाङ माहुरीपालनका लागि अन्य जिल्लाभन्दा उत्कृष्ट जिल्लाको रूपमा रहेको छ”, अध्यक्ष श्रेष्ठले भने ।
प्रतिक्रिया