काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।
हिजो प्रकाशित नामावलीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि आज १० वजे देखि १ बजेसम्मको समय दिइएको आयोगले जनाएको छ । आज १ वजेदेखि २ वजेसम्म अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि हिजो आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध परेको उजुरी उपरको छानबीन सकेर उम्मेदवारहरुको नामावली प्रकाशित गरेको थियो ।
यसैबीच मनोनयनपत्रको जाँचबुझ गर्ने समयसीमाभित्र स्थानिय तहको निर्वाचन खर्च नबुझाएका उम्मेदवारले तिर्नुपर्ने जरिवाना रकम बुझाउने व्यक्तिको मनोनयन कायम गर्न सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।



प्रतिक्रिया