काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको ‘प्रोटेस्ट’ सदर भएको छ । योसँगै एनआरएनए प्रतियोगिताबाट बाहिरिएको छ । एनआरएनएले जितेको नतिजासमेत उल्टिदै प्रदेश १ को जित भएको छ । गत बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय खेलाडी उतारेपछि विवाद भएको थियो ।
नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरू विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासमाथि प्रदेश १ ले ‘प्रोटेस्ट’ हालेको थियो ।
गत बिहीबार प्रदेश १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो । जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५ मिनेटमा घटाइएर खेलाइएको थियो । सो खेल एनआरएनए २–० ले विजयी भएको थियो । एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए ।
सो खेलअघि प्रदेश १ खेल्न मन्जुर थिएन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले खेलपछि ‘प्रोटेस्ट’ हाल्न सक्ने बताएपछि खेल भएको थियो ।
खेलसकिने बित्तिकै प्रदेश १ ले हालेको थियो । शनिबार सो प्रोटेस्ट सदर भएको हो । यो निर्णयसँगै त्यो खेलको नतिजा उल्टिएर प्रदेश नम्बर १ को ३–० को जित भएको छ । अब, समूह ए मा रहेको एनआरएनएले राष्ट्रिय खेलाडीविना गण्डकी प्रदेशविरुद्ध अन्तिम खेल खेल्ने छ ।
प्रतिक्रिया