काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज बुधबारदेखि थुनछेक बहस हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस हुने भएको हो । घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो ।
सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
सन्दीपको पक्षबाट रमन श्रेष्ठको टिमले बहस गर्ने भएको छ । सन्दीपले श्रेष्ठसहित हाइप्रोफाइलका वकिलहरुको बलियो टीम बनाएका छन् । वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले सन्दीपको पक्षबाट बहस गर्नेछन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् ।
यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयोग गर्दै आएका थिए । सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए । तर, रिजालले सञ्चारकर्मीसँग विवादित अभिव्यक्ति दिएपछि उनलाई सन्दीपको परिवारले टीममा राख्न चाहेको छैन ।
प्रतिक्रिया