काम नगर्ने, कुरा मात्रै गर्ने नेताबाट देश विकास सम्भव छैन : प्रकाशशरण महत

काम नगर्ने, कुरा मात्रै गर्ने नेताबाट देश विकास सम्भव छैन : प्रकाशशरण महत


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका छन्।

संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि काँग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको भन्दै उनले सबै उम्मेदवारलाई जिताउनुपर्ने बताए।

जनकपुरधाममा आज भएको पत्रकार सम्मेलनमा बोल्दै महतले देशलाई नै जोडेर राख्न सक्ने काँग्रेसको नेतृत्व जनताले चाहेको बताए।

‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ। काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन। देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ’, उनले भने।

काँग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानबाट अघि बढ्ने उनले बताए।

काँग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेका स्पष्ट गर्दै आगामी निर्वाचनपछि पनि देशमा काँग्रेसकै नेतृत्वमा यही गठबन्धनको सरकार बन्ने उनले बताए।