सिटी र चेल्सी पराजित, लिभरपुल लयमा फर्किँदै

सिटी र चेल्सी पराजित, लिभरपुल लयमा फर्किँदै



लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।

राति नै भएको अर्काे खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भयो । न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे । न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ ।

लिभरपुल लयमा फर्किँदै
इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ । लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टाे फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए । 

जितसँगै लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै छैटौ स्थानमा छ । साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ । राति भएका अन्य खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४–३ ले हरायो । बर्नेमाउथले एभर्टनलाई ३–०, नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० र लेस्टरले वेस्ट ह्यामलाई २–० ले हराएका छन् ।