नेपालका कारागारमा २५ हजार ९०६ जना नेपाली कैदीबन्दी

नेपालका कारागारमा २५ हजार ९०६ जना नेपाली कैदीबन्दी

मतदाता सूचीमा नाम हुनेले भोट हाल्न पाउने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन् । तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५  हजार ९०६ रहेको कारागारा व्यवस्थापन विभागले जनाएको छ । कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला रहेका छन् । 

विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ । कैदीमध्ये १३ हजार ९३० पुरुष छन् भने ७४८ जना महिला रहेका छन् । यस्तै नेपालमा हाल कुल थुनुवा (बन्दी)को संख्या १२ हजार ५१७ रहेको छ । थुनुवामध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ । 

कारागारमा रहेका नेपाली कैदीबन्दी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन पाउने छन् । उनीहरुलाई मतदानको व्यवस्था मिलाईएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार कारागारमा रहेका कैदीबन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् । कैदीबन्दीलाई आयोगले अस्थायी मतदाताको सूचीमा राखेको छ । आयोगले यस्ता अस्थायी मतदातको लागि अस्थायी मतदान केन्द्रको व्यवस्था समेत गरिसकेको छ । 

अस्थायी मतदाताको लागि आयोगले ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिसकेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ ।