काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलमा जित हासिल गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका हुन् । अन्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे ।नेपालको लागि अन्जनको यो ११ औं गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।
यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् । नेपालले रोहित चन्दको नेतृत्व खेलेको यो पहिलोपल्ट हो । दशरथ रंगशालामा नेपालको यो ऐतिहासिक ५० औं खेल हो । प्रशिक्षक प्रवेश कटुवालले नेपाली टिम सम्हालेको पनि पहिलो अवसर हो।
यस्तै पाकिस्तानले फिफाको निलम्बनपछि खेलेको यो नै पहिलो आधिकारिक खेल हो । प्रतिबन्धको कारण पाकिस्तान तीन वर्ष आधिकारिक फुटबलवाट बाहिर रहेको थियो ।
प्रतिक्रिया