अवसरवादी र भुइँफुट्टाले बीपीको आदर्श दक्षिणपन्थी भासमा डो-याए : कार्की

अवसरवादी र भुइँफुट्टाले बीपीको आदर्श दक्षिणपन्थी भासमा डो-याए : कार्की


ग्लोब नेपाल
3k
Shares

नेपाल विद्यार्थी संघको पृष्ठभूमि बोकेका पूर्व प्रशासक गणेशराज कार्कीलाई नेपाली कांग्रेस (बीपी) ले समानुपातिक उम्मेदवार बनाएको छ । राजनीति पृष्ठभूमि भए पनि प्रशासन सेवामा लामो समय बिताएर उनी पुनः राजनीतिमा फर्किएका छन् । नेपाली कांग्रेसमा सैद्धान्तिक विचलन आएको उनको निष्कर्ष छ । अवसरवादी र भुइँफुट्टाले कांग्रेस संस्थापक बीपी कोइरालाको आदर्श दक्षिणपन्थी भासमा डो-याएको उनको आरोप छ । बीपीको यो आदर्शलाई नेपाली कांग्रेस (बीपी) बाट सच्चा प्रतिनिधित्व हुने कार्कीको भनाइ छ । यिनै परिवेशमा ग्लोब नेपालले कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश

० रुख हुँदाहुँदै करुवामा किन मत हाल्ने ?
– कांग्रेसले प्रत्यक्षतर्फ उठाएका उम्मेदवारप्रति हाम्रो खासै विरोध छैन । समानुपातिकमा जुन ८ वटा क्लस्टर छ, त्यसमा हाम्रा विरोध हो । पछाडि परेका क्षेत्र, समुदाय र लिंगलाई प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरिएको छ । कांग्रेसमा अहिले जुन प्रतिनिधित्वका लागि अगाडि सारिएको छ, तिनीहरु अवसरवादीहरु र सुकिलामुकिला वर्ग नै हाबी भएको देखियो । हामीले पछाडि परेको क्षेत्र, समुदाय र लिंगको प्रतिनिधित्व होस् भनेर हामीले विरोधस्वरुप उम्मेदवारी दर्ता गराएका हौं । यसले कांग्रेसलाई सुध्रिने अवसर दिनेछ भने संविधानको मर्म र भावनाको प्रतिनिधित्व होस् भनेर हामीले त्यसो गरेका हौं ।

० नेपाली कांग्रेस र बीपी कांग्रेसबीच अन्तर के हो ?
– कांग्रेसमा अहिले पनि भुइँफुट्टा र सुकिलामुकिला वर्ग हाबी छन् । तर, बीपी कोइरालाले नेपाली कांग्रेस त्यस्तो होस् भनेर कल्पना गरेका थिएनन् । मध्यम र वामपन्थी वर्गको झुकाव समाजवादतर्फ होस् भनेर बीपीले पार्टी स्थापना गरेका थिए । पछाडि परेको क्षेत्र, वर्ग र समुदायको उत्थान र उन्नति गर्नुपर्छ बीपीको आदर्श हो । उहाँको टिममा समेत यो आदर्श बाँकी नै थियो । नेपाली कांग्रेस अहिले केन्द्रबाट दक्षिणतर्फ झुकाव राख्छ । दर्शनका रुपमा हेर्ने हो भने कांग्रेस सेन्टर र राइटस्तर्फ अघि बढ्छ । तर अहिले केन्द्रबाट दक्षिणतर्फ अघि बढेको छ । केन्द्रबाट दक्षिण र केन्द्रबाट दायाँबीचको अन्तर हुन्छ ।

हामी चाहिँ मध्यममर्गीकै रुपमा स्थापित हुन खोजेका हौं । यदि कांग्रेसमा पनि मध्यममार्ग भएको भए हामीसँग कुनै फरक हुँदैन थियो । कांग्रेस दक्षिणपन्थी धारतिर गएको छ । कांग्रेस र बीपी कांग्रेसबीच यही हो फरक ।

० बीपीको आदर्श तपाईंको पार्टीले बोकेको छ ?
– हो, हाम्रो पार्टीले बीपीको आदर्श बोकेको छ । नेपालको पछाडि परेको क्षेत्र, जुन ८ वटा क्लस्टर छ, महिला, आदिवासी, जनजाति, खस आर्यको आर्थिक, सामाजिक र राजनीतिक उन्नति हुनुपर्छ र यो समानुपातिक हुनुपर्छ । पुस्तान्तरण पनि हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । कांग्रेसको अहिलेको पुस्ता एकदमै पुरानो हो । त्यसमा पनि परिवारवाद हाबी भएको छ । आफूपछिको प्रतिनिधि आफ्नो आसेपासे, परिवार र नातागोताको हुने भए । हामीले चाहिँ समाजको एकदमै क्रिम र मेघावी मान्छेलाई ल्याउनुपर्छ भन्ने मान्यता राख्छौं । हो, यिनै कारणले बीपी कांग्रेसलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढेका हौं ।

० प्रत्यक्षतर्फ कति उम्मेदवार छन् ?
– प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रा ७८ जनाले मनोनय दर्ता गराएका थिए । केहीले छाडेका छन्, त्यसलाई हामी करेक्सन गर्दैछौं । समानुपातिकतर्फ ६८ जना छन्, सुदूरपश्चिममा धेरै छन् ।

० कति जित्नुहुन्छ ?
– प्रत्यक्षतर्फ हाम्रो ४–५ वटा सिटमा हाम्रो चर्को प्रतिस्पर्धा छ । हामीले स्वतन्त्रलाई पनि समर्थन गरेका छौं । प्रदेशसभामा हाम्रो १०–१२ वटा सिट आउन सक्छ । समानुपातिकमा हामी ६ देखि ७ प्रतिशत मत ल्याउन सक्छौं भन्ने हाम्रो अनुमान छ ।

० थ्रेस होल्ड कट्छ होइन ?
– ३ प्रतिशत मतले थ्रेस होल्ड कट्छ । कतिपय मानिसलाई ३ प्रतिशत मत र प्रतिनिधिसभामा एक सिट जितेपछि मात्र राष्ट्रिय पार्टी बन्छ । तर, समानुपातिकमा प्रतिनिधित्व हुनका लागि प्रतिनिधिसभामा ३ प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशत हो । हामीले दुवै सदनमा ६ प्रतिशतभन्दा बढी मत प्राप्त गर्छौ । कांग्रेसमा अहिले देखिएको प्रवृत्तिप्रति दिक्क भएका आस्थावान कार्यकर्ता सबैको मत हामीलाई आउँछ ।

हाम्रै चुनाव चिन्हबाट प्रतिनिधिभामा निर्वाचन लडेका ४ जना र हामीले समर्थन गरेका अरु केहीले चुनाव जित्दै छन् । उदाहरणका लागि चितवन–३ मा दिनेश कोइराला, सर्लाही–२ मा अम्रेशकुमार सिंह र उदयपुरमा रामकुमार राईलाई हामीले पूर्ण समर्थन गरेका छौं । कर्ण मल्लजी त हाम्रै पार्टीको उपाध्यक्ष हुनुहुन्छ । सत्ताको दुरुपयोग भएन भने उहाँ चुनाव जित्ने स्थितिमा हुनुहुन्छ ।

० कांग्रेसका बागी उम्मेदवारलाई तपाईंहरुको पूर्ण समर्थन ?
– बागी भन्नुहुन्छ अथवा जे भन्नुहुन्छ, उहाँहरुलाई हाम्रो पूर्ण समर्थन छ । कांग्रेसमा नअटाएकाहरु हाम्रो मित्र शक्ति नै हो ।

० स्थानीय निर्वाचनमा कति उम्मेदवार थिए, कति जित्नुभयो ?
– म चाहिँ असोजको दोस्रो साता नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेको हुँ । यसका केही सैद्धान्तिक कारणहरु छन् । सैद्धान्तिक प्रश्नमा हाम्रो केही गम्भीर असहमति रह्यो । स्थानीय निकायमा हाम्रा धेरै साथीहरु थिएनन, त्यसकारण म यस विषयमा बढी जानकार छैन ।