३१ वर्षपछि प्यूठानमा फहरायो चारतारे झण्डा, रोज राणाको सानदार जित

३१ वर्षपछि प्यूठानमा फहरायो चारतारे झण्डा, रोज राणाको सानदार जित


ग्लोब नेपाल
0
Shares

प्यूठान । कम्यूनिष्ट पार्टीको बलियो प्रभाव रहेको प्यूठान जिल्लामा ३१ वर्षपछि नेपाली कांग्रेसको चारतारे झण्डा फहराएको छ । पार्टीभित्रबाटै एउटा समूहले खुलेरै असहयोग गर्दा पनि कांग्रेस उम्मेदवार सरोज थापा (रोज राणा) निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार हरिप्रसाद रिजाललाई पराजित गर्दै कम्यूनिष्ट किल्लामा चार तारे झण्डा फहराएका हुन् ।

कांग्रेस उम्मेदवार राणाले २२ हजार ५ सय १८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरि रिजालले २० हजार ८ सय ७ मत ल्याए । राणा कांग्रेस प्युठानका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् । रिजाल यसअघि लुम्बिनी प्रदेशबाट मन्त्री भइसकेका नेता हुन् ।

प्यूठानमा पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गरेको थियो । प्रतिनिधिसभातर्फ सत्तागठबन्धनको उम्मेदवार जनमोर्चाबाट दुर्गा पौडेल उम्मेदवार बनेकी थिइन् । त्यस्तै प्रदेशसभातर्फ क मा नेकपा माओवादीबाट कृष्ण अधिकारी उम्मेदवार थिए भने प्रदेश सभा ख मा कांग्रेसबाट रोज राणा उम्मेदवार थिए ।

राणाले टिकट पाएलगत्तै उनकाविरुद्ध कांग्रेसको एउटा समूह खुलेरै असहयोगमा उत्रिएको थियो । उनका चुनावी अभियानमा उक्त समूह सहभागी नै रहेन । तर पार्टीभित्रकै असहयोगलाई चिर्दै राणाले कम्यूनिष्ट किल्लामा सानदार जित हात पारे ।

‘रोजजीलाई त हराउन कांग्रेसकै कतिपय साथीहरु खुलेरै लाग्नुभयो तर उहाँलाई जनताले साथ दिए,’ प्यूठान कांग्रेसका एक नेताले भने, ‘गठबन्धनबाट चुनाव लड्दा कम्यूनिष्ट उम्मेदवार हार्नुभयो तर उहाँ जित्न सफल हुनुभयो ।’

नेपालको कम्यूनिष्ट आन्दोलनका चर्चित नेता मोहनविक्रम सिंहको गृहजिल्ला हो प्यूठान । सिंहकै धर्मपत्नी पौडेल सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार थिइन् ।

त्यस्तै बामदेव गौतम, दुर्गा पौडेल, लिलामणी पोखरेल, वाइवी थापा, उर्मिला अर्यालजस्ता चर्चित नेताहरुको जिल्ला प्यूठानमा कांग्रेसका रोज राणाको विजय चानचुने विषय नभएको स्थानीय बताउँछन् ।

२०४८ सालमा प्युठानबाट मुक्तिप्रसाद शर्माले सांसद जितेयता अहिलेसम्म नेपाली कांग्रेसबाट कोही पनि निर्वाचित हुनसकेको छैन । ३१ वर्ष अगाडि कांग्रेसको त्यो जीतलाई कांग्रेसका युवा नेता सरोज थापा (रोज राणा) ले कम्युनिष्टहरुकै साथमा पुनर्जीवन दिएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्यूठानमा प्रदेश सभामा राणालाई टिकट दिएका थिए । उनी देउवानिकट नेता हुन् ।