सुदूरपश्चिममा कांग्रेस पहिलो दल, प्रतिनिधिसभामा माओवादी ‘निल’

सुदूरपश्चिममा कांग्रेस पहिलो दल, प्रतिनिधिसभामा माओवादी ‘निल’


ग्लोब नेपाल
135
Shares

सुदूरपश्चिम । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।

प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ ।

सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहे । विसं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आएका छन् ।

दार्चुलाबाट प्रतिनिधित्व गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी भए । उनले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गरे ।

बडू यसअघि विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसैगरी श्रम तथा रोजगारमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहे । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उनी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)बाट अछाम १ मा श्रममन्त्रीसमेत रहनुभएका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित भए । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष छन् ।

नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहनुभएका बैतडीका नरेन्द्र कुँवर (विजयसुन्दर) कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा पराजय व्यहोरे । प्रतिनिधिसभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ ।

नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित भए । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनःएमालेमै फर्किएका थिए ।

एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित भए । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी भए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेशसभा २ बाट पराजित भए । उनी नागरिक उन्मुक्ति पार्टीका प्रत्यासीसँग पराजित भएका हुन् । डा रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

प्रदेशका सामाजिक विकासमन्त्री एवं कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित भए । उनी स्वतन्त्र उम्मेदवार डा. तारा जोशीसँग पराजित भए । बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहेका छन् ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित भए । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशःएमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गरे ।

प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा एकीकृत समाजवादीका नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित भए । प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित भए ।

निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाउनुभएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित भए । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित भए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित भएका छन् ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित भउका छन् ।

यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी छन् । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा. तारा जोशी पनि प्रदेशसभामा विजयी भए । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।