काठमाडौं । संयुक्त राष्ट्र संघबाट आव्हान गरिएको ग्लोबल भ्याकेन्सी अनुरुपको खुल्ला प्रतिस्पर्धाबाट प्रोटेक्सन अफ सिभिलियन साईट को–अर्डिनेटर (पि–४ तह) पदमा सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरिक्षक सुरेशकुमार श्रेष्ठ उत्कृष्ट भई छनौट भएका छन् ।
संयुक्त राष्ट्र संघको साउथ सुडानस्थित शान्ति स्थापना मिसनअन्तर्गत खाली रहेको POC Coordinator (P-4) पदमा सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्र संघ प्रहरी डिभिजनबाट गरिएको विज्ञापनमा नेपालको तर्फबाट एसएसपी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । हाल अन्य मुलुकका प्रतिस्पर्धीहरु मध्ये परिक्षाका बिभिन्न चरण र अन्तर्वार्ताबाट श्रेष्ठ उत्कृष्ट भई छनौट भएका हुन् ।
संयुक्त राष्ट्र संघको साउथ सुडान शान्ति मिसनमा (पि–४ तह) तहको कुनै पनि पदमा हालसम्म कुनै पनि नेपाली अधिकृतहरु छनौट हुन सकेका थिएनन्। हाल छनौट भएका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका अधिकृतहरु मध्येसमेत पहिलो ब्यक्ति हुन । यो छनौट सशस्त्र प्रहरी बल र राष्ट्रकै लागि महत्वपूर्ण उपलब्धी भएको छ। नेपालका बिरलै अधिकृतहरुले मात्र संयुक्त राष्ट्रसंघको माथिल्लो तहमा रही काम गर्ने अवसर पाएका छन् ।
सशस्त्र प्रहरी बलको स्थापना भएपश्चात पहिलो ब्याचमा प्रहरी निरीक्षक पदमा भर्ना भएका श्रेष्ठ उक्त ब्याचमा सर्वोत्कृष्ट भई प्रथम स्थान हासिल गर्न सफल भएका थिए। आफ्नो ब्याचमा सधै प्रथम स्थानमा रहेका एसएसपी श्रेष्ठ साउथ सुडान मिसनमा १ बर्ष एफपीयू कमाण्डरको रुपमा काम गरिसकेका छन्। त्यसैगरी उनी संयुक्त राष्ट्र संघ शान्ति स्थापना मिसन लाईबेरिया र संयुक्त राष्ट्र संघको सहयोग मिसन इराकमा समेत नेपालको प्रतिनिधित्व गरी काम गरिसकेका अधिकृत हुन्।
प्रतिक्रिया