पूर्व सूचना बिनै भारतीय प्रशासनद्वारा नाका सिल

पूर्व सूचना बिनै भारतीय प्रशासनद्वारा नाका सिल


ग्लोब नेपाल
162
Shares

पर्सा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल-भारत नाका सिल गरिएको छ । आगामी पुष ३ गते हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त हिजो दिउँसोदेखि वीरगञ्ज-रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिएको हो ।

पूर्व सूचना बिनानै हिजो दिउँसोदेखि भारतीय प्रशासनले वीरगञ्ज-रक्सौल नाका अचानक सिल गर्दा स्थानीयहरुलाई सास्ती भएको छ । सवारीसाधन ओहोरदोहर नहुँदा दुवैतर्फका स्थानीय र नेपाल प्रवेश गर्न लागेको मालवाहक सवारीसाधन पनि रोकिएको स्थानीयले गुनासो गरेका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार भारतीय पक्षले आफूहरुसँग समन्वयनै नगरी नाका सिल गर्दा समस्या भएको हो । उनले आइतबार निर्वाचन सम्पन्न भएपछि मात्र नाका खोलिने जानकारी दिए ।

‘हामीलाई कुनै सूचनानै नदिइ भारतीय पक्षले दुवैतर्फबाट सवारीसाधन प्रवेशमा दिउँसोदेखि अचानक रोक लगायो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय गर्दा ७२ घण्टा अगाडि बोर्डर सिल हुने भनेर सूचना प्राप्त गर्यौं । थप समन्वय गरेर नाकालाई केही घण्टाका लागि सहज गर्न आग्रह गरेका छौं ।’