न्युक्यासल दोस्रो स्थानमा उक्लियो, आर्सनलको लय कायमै

न्युक्यासल दोस्रो स्थानमा उक्लियो, आर्सनलको लय कायमै



लन्डन । स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ । 

बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन ग-यो । मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए । ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २–१ को स्थितिमा ल्याएका हुन् । इडवार्ड एनकेटियले ६९औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए । 

जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ । म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो । सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दैछ । 

लिभरपुलको सहज जित
इंग्लिस प्रिमियर लिगअन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो । 

लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७औं मिनेटमा २–० को अग्रता बनाए । ५९औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि एस्टन भिल्ला खेलमा फर्कन सकेन् । 

जितसँगै जोर्गेन क्लोपको लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंक सहित १२औं स्थानमा छ । 

न्युक्यासल दोस्रो स्थानमा उक्लियो
लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो । 

जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको छ । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौ खेलमा पुगेको छ । १० वर्ष अघि एलान वार्डेवको प्रशिक्षणमा न्युक्यासलले पाँचौ स्थानमा लिग टुंगाएको थियो । यस वर्षमात्रै २१ खेल जितेको थियो । सन् १९९५ मा न्युक्सासलले २३ खेल जितेको थियो । सन् १९९५–९६ मा दोस्रो भयो । 

किङ पावर मैदानमा भ्रमणकारी टोली न्युक्यासलले सुरुवातै अग्रता बनाउन सफल भयो । क्रिस वूडले पाएको पेनाल्टी सदुपयोग गर्दै तेस्रो मिनेटमा गोल गरे । सातौंं मिनेटमा म्यागुएल एलमोरोनले दोस्रो गोल थपे । ३२औं मिनेटमा जोइलिन्टोनले तेस्रो गोल गरेका थिए । 

सोमबार रातिका अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, उल्भ्सले एभर्टनलाई २–१ र फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो । ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका थिए ।