झापा । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्यान गएको छ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डेको ज्यान गएको हो।
सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीको सहयोगमा एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खडकाले दिएको जानकारी अनुसार होटेलमा आगलागी हुँदा निराकर त्यही फसेका थिए ।
घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएन खड्कासँग अनुरोधसमेत गरेका थिए। उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए।
प्रतिक्रिया