लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ४–२ ले पराजित गर्दै आर्सनल म्यानचेस्टर सिटीभन्दा सात अंकको अघि रहेको हो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो ।
भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसैगरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए । ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे ।
राति नै भएको खेलमा सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो । म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित ग-यो । यसैगरी फुलहमले साउथह्याम्पटन र क्रिस्टियल प्यालेसले बर्थमाउथलाइ हरायो ।
एभर्टनसँग रोकियो सिटी
एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो ।
यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।
घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो । रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए । पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो । इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए ।
रसफोर्डको निर्णायक गोल
मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले पराजित गरेको छ । शनिबार रातिको जितसँगै १६ खेलमा ३२ अंक जोडेको युनाइटेट चौथौ स्थानमा उक्लिँन सफल भएको छ । पराजित उल्भ्स १७ खेलमा १३ अंकका साथ रेलिगेशन क्षेत्रमा रह्यो ।
उल्भ्सको घरेलु मैदान मोलिनेयुक्स मैदानमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रसफोर्डले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन् । ४६ औं मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका रसफोर्डले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै युनाइटेडलाई तीन अंक जोडेका थिए ।
प्रतिक्रिया