उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछानेसँग महासंघ प्रतिनिधिमण्डलको भेट

उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछानेसँग महासंघ प्रतिनिधिमण्डलको भेट

महासंघको प्रतिनिधिमण्डलले निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी, धरौटी रकम फिर्ता, पाँचवटा मात्र ठेक्का पाउने नियमलाई पूर्ण कार्यान्वयन, २० प्रतिशत मोबिलाइज रकम उपलब्ध गराउने र शान्ति सुरक्षाको विषयमा ध्यानाकर्षण गराएको छ ।


ग्लोब नेपाल
3.9k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग बेग्लाबेग्लै भेट गरी निर्माण उद्योगका समसामयिक समस्याबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताए । निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताए । तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उनले निर्माण व्यवसायीहरूलाई सुझाव दिएका थिए । त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने जानकारी दिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले व्यसायीलाई कसेर होइन, उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रष्ट पारे । उनले जनचाहना अनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझाव दिए । उपप्रधानमन्त्रीद्वय समक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताए । सार्वजनिक खरिदका कानुन अनुसार निर्माण व्यवसायीहरूले पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गरे ।

निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहले बताए । उपप्रधानमन्त्रीद्वयको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, टेकबहादुर सेठी, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोककुमार केसी, दानबहादुर खड्का उज्वल गौतम, बालाजु श्रेष्ठ, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतको सहभागिता रहेको थियो ।