मधेसमा सरकार गठनका लागि पुस २८ बेलुकी ४ बजेसम्मको समय

मधेसमा सरकार गठनका लागि पुस २८ बेलुकी ४ बजेसम्मको समय


ग्लोब नेपाल
81
Shares

जनकपुरधाम । मधेस प्रदेशमा सरकार गठनकालागि पुस २८ गते बिहीबार बेलुकी ४ बजेसम्मको समय तोकिएकाे छ । प्रमुख हरिशंकर मिश्रले मधेसमा मुख्यमन्त्री नियुक्ति गर्न आज ६ दिनकाे समय दिएका हुन् । मधेस प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दावी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ । एकल दलकाे ५४ सांसदकाे संख्या भने छैन ।

कुनै एक दलसँग सरकार बनाउने सांसद संख्या नरहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख मिश्रले आह्वान गरेका छन् ।

यो प्रदेशमा नेकपा एमालेकाे २३, कांग्रेसको २२, जसपाको १६, जनमतको १३, माओवादीको ९, नेकपा एसको ७ र लोसपाको ९ सांसद छन् । ५ स्वतन्त्र सांसद छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको १/१ सांसद रहेका छन् ।