संकटाले जित्यो २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटाले जित्यो २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि


ग्लोब नेपाल
81
Shares

पाेखरा । सहिद स्मारक ए डिभिजन टोली संकटा क्लबले शनिबार आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमाञ्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । संकटाले दोस्रो पटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।

अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । संकटाले यसअघि सन् २०१९ मा पनि उपाधि जितेको थियो । यो दोस्रो उपाधि हो । आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गरेपछि संकटाले अग्रता लिएको थियो । यस्तै ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गरेपछि संकटा २–० को अवस्थामा पुगेको थियो ।

३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गरेपछि भुटनीज टिम २–१ को अवस्थामा आएको थियो । पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिथले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा पनि पहिलो हाफकै नतिजाले निरन्तरता पाएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ११७ औं मिनेटमा संकटाका सुनिलले विजयी गोल गरेका थिए । उनको गोलसँगै संकटा ३–२ गोल अन्तरले विजयी भयो ।

उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो । प्रतियोगितामा संकटाका कप्तान सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सर्वोत्कृष्ट चुनिएका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरे ।

यस्तै प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर, संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगितामा ४ गोल गरेका संकटाका मेसुके ओलेमोउ सर्वाधिक गोलकर्ता चुनिए । धरान एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो । विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र सर्वाधिक गोलकर्ताले २५ हजार प्राप्त गरे । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।