काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बताइएको छ ।
सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको छ ।
बैठक पछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्षीको रूपमा रहेको छ भने आफ्ना कुरा राख्यौँ । राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुखमा सहमति हुन सक्छ कि भनेर प्रमले कुरा राख्नुभयो । हामीले प्रमले चाहनुहुन्छ बने तयार छौँ भन्यौ । आज कुनै सहमति भएको छैन ।’
उनले भने -‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो । अर्को सत्तापक्ष र प्रतिपक्षबारे पनि केही कुरा राख्नुभयो । कांग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ। र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौँ । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर अगाडि बढ्न सकिने कुरा राख्नुभयो।’
कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीलगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले बैठकमा आ–आफ्नो धारणा राखेका थिए
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।
प्रतिक्रिया