पाँच वर्षमा मेलम्चीलाई सुन्दर समृद्ध बनाउछौं : प्रमुख तामाङ

पाँच वर्षमा मेलम्चीलाई सुन्दर समृद्ध बनाउछौं : प्रमुख तामाङ


ग्लोब नेपाल
594
Shares

स्थानीय जनताको समस्या समाधान गर्ने सरकार स्थानीय सरकार हो । स्थानीय जनताले घरदैलोको सरकार भएकोले आफ्नो माग सहज रुपमा राख्न सक्छन् । निर्वाचित भएर कार्यभार सम्मालेको सात महिना बितिसक्दा पनि कतियप स्थानिय तहहरु आन्तरीक विवादमा अल्झिएका छन् । केहि स्थानीय तहहरुले भने राम्रा कामको थालनी पनि गरेका छन् । यस्तै विषयमा हामीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसँग कुराकानी गरेका छौं । प्रस्तुत छ प्रमुख तामाङसँग ग्लोब नेपालले गरेको कुराकानीको सारसंक्षेप ।


-मेलम्ची नगरपालिकामा निर्वाचित भएर आएपछि के–के कामहरु गर्नुभयो ?
हामीले मेलम्ची नगरपालिकामा निर्वाचित भएर आएपछि सर्वप्रथम सडक सञ्जाल निर्माणमा जोड दिएर काम गरियो । सबै वडाहरुमा जाने सडक स्तरोन्नती गर्ने काम भइरहेको छ । हाम्रो नगरपालिकामा बर्षाको समयमा बाढी पहिरोले धेरै नै क्षती गरेको थियो । त्यसमा हामीले नगरमा क्षती भएका खेती योग्य जमिनहरुको संरक्षण गर्ने कामलाई तिव्रताका साथ अगाडि बढाएका छौं । त्यसैगरी हामीले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि काम अगाडि बढाएका छौं । हामीले कृषि क्षेत्रलाई पनि महत्वका साथ राखेका छौं । प्रत्येक वडाको कुन टोलमा के उत्पादन हुन्छ भनेर हामीले पकेट क्षेत्र निर्धारण गरेर काम अगाडि बढाउन अध्ययन सुरु गरेका छौं । त्यस्तै हामीले माटो परिक्षणको काम सुरु गरेका छौं ।

कार्यकालको पहिलो वर्षमा काम गर्दै हुनुहुन्छ । यो पाँच वर्षमा नगरपालिकामा केके काम गर्ने लक्ष्य राख्नुभएको छ ?
हामीले निर्वाचनमा मत माग्ने क्रममा पनि जनतासँग असम्भव प्रतिबद्धताहरु गरेका छैनौं । हामीले पाँच वर्षे कार्यकालमा मेलम्चीलाई सुविधा सम्पन्न, सुन्दर र समृद्ध नगर बनाउने लक्ष्य लिएका छौं । जसअनुसार हामी निरन्तर लागि परेका छौं । जनताको माग र आवश्यकता निकै धेरै छ । हामीले ती आवश्यकताहरु मध्येबाट तत्काल गर्नपर्ने र क्रमशः गर्दै जानेको सुचि बनाएर काम गर्ने हो । हामी हाम्रो स्रोतसाधनले भ्याउनेसम्मको काम गर्ने छौं । नगरले गर्ने हरेक काम पारदर्शी र जनसहभागितामुलक हुनेछ । नगरको विकासका लागि सधैं नगरवासीसँग छलफल गर्ने र सुझावहरु लिने काम गर्ने छौं । विकास निरन्तर चल्ने प्रक्रिया हो । त्यसो हुनाले हामी यहाँको विकास दिगो र गुणस्तरीय बनाउन लागि परेका छौं । पूर्वाधार विकास र सामाजिक विकास दुवै पक्षलाई समेटेर अगाडि बढ्ने हाम्रो सोंच छ ।

-स्थानिय सरकारमा रहेर काम गर्दा कस्ता चुनौतिको सामाना गर्न पर्दो रहेछ ?
समस्याहरु धेरै छन् । पहिलो समस्या हामीसँग पर्याप्त बजेट हुँदैन । नगरवासीको अपेक्षा धेरै हुन्छ । गाउँको भौगोलिक अवस्थाले पनि विकास गर्न विभिन्न समस्याहरु आउँछन् । किसानहरुको त्यतिकै समस्या छ । किसानहरुलाई व्यवसायिक रुपमा अगाडि लैजाने चुनौती छ । सिञ्चाइको सुविधा छैन । यी सबै चुनौतीहरुलाई हामीले मिलेर सामना गर्नु पर्ने छ ।


-कतिपय स्थानिय तहमा जनप्रतिनिधिहरु पक्ष विपक्षमा विभाजित भएर काम कारवाही रोकिएका छन् । यस विषयमा मेलम्चीको अवस्था के छ ?
हामी स्थानिय तहको निर्वाचन अगाडिसम्म फरक पार्टीको धारणा राख्थ्यौं । तर जब निर्वाचित भएर आएपछि सबैले पार्टी भन्दा माथी उठेर काम गरेका छौं । हाम्रो नगरपालिकामा पक्ष र विपक्षको आभास भएको छैन । हामी जनप्रतिनिधिहरु एक ढिक्का भएर सबै कामहरु सर्वसम्मत भएर अगाडि बढाएका छौं । आगामी दिनमा पनि त्यसरी विभाजित नहुने हामीले अपेक्षा गरेका छौं ।

-केन्द्रीय राजनीतिमा गठबन्धन परिवर्तन भएको छ । यसले स्थानिय तहलाई कति प्रभाव पर्छ ?
संघ र प्रदेशको गठबन्धनले हाम्रो स्थानीय तहमा कुनै पनि प्रभाव पार्दैन । माथि सत्ता पक्ष र प्रतिपक्ष भए पनि हाम्रो स्थानिय तहमा संविधानले नै त्यो परिकल्पना गरेको छैन । त्यसो हुनाले हामी सबै काम गर्नका लागि जनताबाट निर्वाचित भएका हौं । विकास र सकारात्मक परिवर्तन गर्न हामी पक्ष र विपक्षमा विभाजन हुन जरुरी छैन । केन्द्रमा जुन पार्टीको सरकार भए पनि हामी आफ्नो पालिकाको मागहरु राख्ने छौं । ती मागहरु सम्बोधन गर्न कुनै पार्टीगत व्यवहार हुँदैन भन्नेमा हामी ढुक्क छौं ।

-मेलम्चीको विकासका लागि संघ र प्रदेश सरकारसँग कसरी सहकार्य गर्ने योजना छ ?
हामीले विधिवत रुपमा योजनाहरु छनोट गरेर नगरसभाबाट पास गरेर माथि पठाउने हो । त्यसपछि उहाँहरुले स्थानीय आवश्यकताको आधारमा योजना अगाडि बढाउनुहुन्छ । यसरी स्थानीय तहको विकास गर्न उहाँहरुबाट कुनै पनि कन्जुसाई हुन्छ जस्तो मलाई लाग्दैन । हामी नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधिले आ—आफ्नो तर्फबाट यहाँ राम्रा र महत्वपूर्ण योजनाहरु ल्याउने पर्यत्न गर्ने छौं ।

-स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएपछि जनतासँग गरेका प्रतिबद्धतालाई भुल्ने गरेका छन् । तपाईँ जनतासँग गरेका प्रतिबद्धता अनुसार नै अगाडि बढ्नुभएको छ ?
हामीले उम्मेदवार हुँदामा गर्नै नसक्ने कामहरु बाचा गरेका छैनौं । गर्न सकिने कामहरु नै बोलेका छौं । त्यसो हुनाले हामीले नगरपालिकाको स्रोत र साधनलाई मध्येनजर गरेर काम गर्ने हो । हाम्रो नगरपालिकाको कुनै पनि जनप्रतिनिधि आफ्नो भुमिकाबाट बाहिर जाने छैन । म यस कुराको ग्यारेन्टी दिन सक्छु । तर केन्द्र प्रदेशका जनप्रतिनिधिहरुले ठूला—ठूला सपना देखाएर जितेपछि वेपत्ता हुने प्रचलन छ । अब त्यसो नगरिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ ।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
मेलम्ची नगरपालिकालाई समृद्ध बनाउनेमा हामी प्रतिबद्ध छौं । यसका लागि हामी मेलम्चीवासी, यहाँका राजनीतिक दलहरु र सम्पूर्ण संघ—संस्थाहरुलाई हामी यस कार्यमा एकजुट भएर लाग्न अनुरोध गर्छौं । हामी निर्वाचित भएको सात महिना पुरा भएको छ । हामीले पाँच वर्षमा धेरै कामहरु गर्न सक्छौं । त्यसमा सबैको साथ मिल्ने छ, भन्ने अपेक्षा गरेका छौं ।