तत्काल संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेस र एमालेको माग

तत्काल संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेस र एमालेको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले संसद् बैठक तत्काल बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल नेतृत्वको टोलीले मंगलबार सभामुख अर्याललाई छुट्टाछुट्टै भेटेर संसद् बैठक तत्काल आह्वान गर्न आग्रह गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम, न्यायालयमा देखिएका विवाद, पत्रकारमाथिको धरपकड तथा जनजीविकासँग सम्बन्धित समस्याबारे संसद्मा छलफल गर्नुपर्ने भन्दै विपक्षी दलहरूले बैठक शीघ्र बोलाउन माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले सभामुखसँगको भेटमा संसद् बैठक चाँडो बोलाउन आग्रह गरेको जानकारी दिए । पछिल्लो समय सार्वजनिक भएका गम्भीर विषयमा संसद्बाहिरबाट प्रतिक्रिया व्यक्त गर्नुभन्दा संसद्भित्रै छलफल गरेर निकास खोज्नुपर्ने उनको भनाइ छ ।

उनले पत्रकारमाथिको धरपकड, न्यायालयसँग सम्बन्धित विवाद, प्रहरी प्रशासनलगायत राज्यका विभिन्न निकायमा देखिएका समस्या र प्रधानमन्त्री कार्यालयसँग जोडिएका विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक रहेको बताए ।

सरकार संसद् बन्द गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्न अग्रसर भएको उल्लेख गर्दै उनले संसद्लाई निष्क्रिय राखेर अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको टिप्पणी गरे ।

‘अहिले अत्यन्तै गम्भीर र संवेदनशील विषयहरू बाहिर आएका छन् । तिनका विषयमा बाहिर बसेर धेरै क्रिया–प्रतिक्रिया व्यक्त गर्नुभन्दा संसद्मा छलफल गराउनुपर्छ । त्यसका लागि संसद्को बैठक चाँडै बोलाउनुपर्छ,’ उनले भने, ‘गम्भीर विषयमा संसद्लाई पन्छ्याएर बस्नु राम्रो हुँदैन ।’

पत्रकारमाथि भएको धरपकड, न्यायालय, प्रहरी प्रशासन तथा अन्य निकायमा देखिएका समस्याबारे संसद्मा छलफल गरेर सहज निकास खोज्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री पनि यी विषयबाट अछुतो नरहेको उल्लेख गर्दै उनले संसद्मा संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याए ।

आङ्देम्बेले जाजरकोट र रुकुमका बाढीपीडितले अझै राहत तथा आवास सहयोग नपाएको विषय पनि संसद्मा उठाउनुपर्ने बताए । पीडित परिवारलाई घरभाडाबापत दिने भनिएको १५ हजार रुपैयाँ र परिवारका सदस्य थपिँदा थप दुई हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था कार्यान्वयन नभएको उनको भनाइ छ ।

महँगी, बिचौलियाको प्रभाव र कर्मचारीमाथि भइरहेको व्यवहारलगायत विषयमा समेत संसद्मा छलफल गरेर समाधान खोज्नुपर्ने उनले बताए ।

नेकपा एमालेकी उपनेता पद्मा अर्यालले पनि सभामुखसँगको भेटमा संसद् तत्काल सञ्चालन गर्नुपर्ने विषय उठाएको जानकारी दिइन् ।

उनले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने र समाचारको स्रोत खोज्ने गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको बताइन् । साथै, ग्यास अभाव, महँगी नियन्त्रणमा सरकारी उदासीनता तथा जनजीविकासँग जोडिएका समस्याबारे संसद्मा छलफल हुनुपर्ने उनको भनाइ छ ।

सरकार, प्रशासन, न्यायालय र राजनीतिक दलहरूमा बिचौलियाको प्रभावबारे पनि गम्भीर अध्ययन तथा अनुसन्धान आवश्यक रहेको अर्यालले बताइन् ।

‘जनताका आवाज मुखरित गर्ने थलो संसद् हो । अहिले संसद् नबसेको अवस्थामा विभिन्न समस्या देखिएका छन् । पत्रकारमाथि भइरहेको धरपकड, समाचार कक्षबाटै पत्रकारको गिरफ्तारी र समाचारको स्रोत खोज्ने कुरा लोकतन्त्रमा गम्भीर विषय हुन्,’ उनले भनिन् ।

जनताको दैनिक जीवनसँग जोडिएका समस्या, महँगी नियन्त्रण र ग्यास अभावबारे पनि संसद्मा छलफल हुनुपर्ने उनले बताइन् । सरकारदेखि प्रशासन, न्यायालय र राजनीतिक दलसम्म बिचौलियाको प्रभाव देखिएकाले त्यसको कारण खोजी गरी निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

‘संसद् जीवितै छ र यसलाई क्रियाशील बनाउन सकिन्छ । कानुन निर्माण गर्ने थलो संसद् नै हो । अध्यादेशबाट होइन, संसद्बाटै कानुन निर्माण गर्नुपर्छ,’ उनले भनिन्, ‘जनताका समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने थलो संसद् भएकाले बैठक छिटोभन्दा छिटो आह्वान गर्न सभामुखसँग अनुरोध गरेका छौँ ।’

दुवै दलका नेताहरूसँगको भेटमा सभामुख अर्यालले संसद् बैठक बोलाउन आवश्यक परामर्श गरिरहेको जानकारी दिएको उनीहरूले बताएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेतृत्वमा सोमबार बसेको विपक्षी दलको बैठकले पनि तत्काल संसद् बैठक बोलाउन माग गरेको थियो ।