काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् । सभामुखका रूपमा आफू निष्पक्ष र सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा (एमाले)सँगको सबै प्रकारको आवद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरि सकेको छु । सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु,’ उनले भनेका छन्, ‘संसदमा राजनीतिक दलहरुको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो । संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधिसभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ ।’
सभामुखको सम्बोधनको पूर्ण पाठ
प्रतिक्रिया