के उमेरले जहाज पुरानो हुन्छ ?

के उमेरले जहाज पुरानो हुन्छ ?

‘जहाजको आयु तोकिएको हुँदैन’



काठमाडौं । गत माघ १ गते यति एयरलाइन्सको एटीआर हवाइजहाज पोखरामा दुर्घटना भएपछि सुरक्षित र भरपर्दो मानिएको हवाइ यात्रामा संशय उत्पन्न गराएको छ । यो संशयलाई नेपाली आकाशमा उड्ने अधिकांश जहाज पुरानो भएकाले दुर्घटना भएको भन्ने सामाजिक सञ्जालमा आएको टिप्पणीले थप मलजल ग-यो । नेपालमा पुरानो जहाज भएकै कारण दुर्घटना हुने गरेको भन्ने टिप्पणी सामाजिक सञ्जालमा छरपस्ट भयो । के नेपालको आकाशमा उड्ने अधिकांश हवाइजहाज पुरानो भएर दुर्घटना भएको हो त ? जहाज बनेको अवधिका आधारमा थोत्रो हुने हो त ? यसै विषयमा ग्लोब नेपालले वास्ताविकता के हो भन्ने उजागर गर्ने प्रयास गरेको छ ।

अहिले नेपाली आकाशमा नियमित पाँचवटा एयरलाइन्सले सक्रिय रुपमा व्यवसायिक उडान गरिरहेका छन् । ती एयरलाइन्सहरुसँग भएका जहाज निर्माण भएको अवधिको आधारमा कति पुरानो जहाजहरु छन् भन्ने तथ्यांक प्राप्त भएको छ । यसमध्ये सबैभन्दा पुरानो जहाज बुद्ध एयरले उडाइरहेको छ । त्यो जहाज २८ वर्ष पुरानो हो ।

निजी क्षेत्रको सबैभन्दा ठूलो हवाइ कम्पनी बुद्ध एयर हो । उसँग १६ वटा हवाइहाज छन् । यी १६ हवाइजहाजको औषत आयु साढे २० वर्षभन्दा पुराना हुन् । उसले सबैभन्दा पछि किनेको जहाज नै १२ वर्षभन्दा पुरानो छ । सन् २०१० नोभेम्बर २९ मा सिरियल नम्बर ९३३ रहेको ९एन–एजेएल कलसाइनको जहाज किनेको थियो । त्यसभन्दा पछि उसले कुनै जहाज भित्र्याएको छैन ।

बुद्ध एयरले सन् १९९५ जनवरी १७ मा एटीआर–४२ को ९एन–एमआईएम कलसाइन रहेको जहाजबाट व्यवसायीक उडान सुरु गरेको थियो । यो जहाज नेपाली आकाशमा उड्न थालेको २८ वर्ष पुगेको छ । त्यही वर्षको अगस्टमा ९एन–एआईएन कलसाइन रहेको जहाज बुद्ध एयरले भित्र्याएको थियो । यो जहाज नेपाली आकाशमा उड्न थालेको २७ वर्ष ३ महिना भइसकेको छ । त्यस्तै बुद्ध एयरले एटीआरकै अर्को जहाज सन् १९९६ मे २३ मा ९एन–एआईटी कलसाइनको जहाज नेपाल ल्याएको थियो । यो जहाज नेपाली आकाशमा उड्न थालेको पनि २६ वर्ष ७ महिना बितिसकेको छ ।

त्यसपछि बुद्ध एयरले सन् १९९७ मा ९एस–एइइ कलसाइन रहेको जहाज सिरियल नं. युइ २८६ रहेको जहाज भित्र्यायो । यो जहाजको उमेर अहिले २६ वर्ष भइसक्यो । त्यो जहाज अहिले पनि नेपाली आकाशमा उडिरहेको छ । त्यसको अर्को वर्ष सन् १९९८ मा ९एन–एइडब्लु कलसाइन रहेको अर्को जहाज बुद्ध एयरले उडानमा ल्यायो । यो जहाज नेपाली आकाशमा उड्न थालेको पनि २५ वर्ष भइसक्यो ।

बुद्ध एयरले सन् १९९७ नोभेम्बर १८ देखि एटीआर–७२-५०० बाट नेपाली यात्रुलाई सेवा दिन थाल्यो । यो मोडलको जहाज बुद्ध एयरसँग ११ वटा छन् । सन् २०१० को अक्टुबर र नोभेम्बरमा कलसाइन ९एन–एजेएल ९३३ र ९एन–एएनएच ९२५ सिरियलको जहाज बुद्ध एयरले पछिल्लो पटक ल्याएको थियो । त्यसपछि बुद्ध एयरले कुनै पनि जहाज नेपाल भित्र्याएको छैन ।

बुद्धपछि नेपालको सबैभन्दा ठूलो हवाई कम्पनी यति एयरलाइन्स हो । उसले पाँचवटा एटीआर–७२÷५०० ले देशका विभिन्न स्थानमा सेवा दिइरहेको छ । उसले ५ अप्रिल २००७ बाट ९एन–एएनजी कलसाइन रहेको जहाजबाट सेवा दिन थालेको हो । यो जहाज नेपाली आकाशमा उड्न थालेको १५ वर्ष ९ महिना पुगेको छ । त्यसपछि सोही वर्षको मे १२ मा ९एन–एएमएममा अर्को जहाज ल्याएर नेपाली हवाइयात्रुको मागलाई यति एयरलाइन्सले पूरा गर्ने प्रयास गरेको देखिन्छ ।

सन् २००८ को जनवरी २३ मा ९एन–एएलएन कलसाइनको अर्को जहाजबाट यतिले सेवा सुरु गरेको थियो । यो जहाज आकाशमा उड्न थालेको १५ वर्ष भयो । यस्तै सन् २००९ जुलाइ १७ बाट ९एन–एएमएन कलसाइन भएको यतिको अर्को जहाजले सेवा दिन थालेको थियो । यो जहाज आकाशमा उड्न थालेको पनि साढे १३ वर्ष पुगिसकेको छ ।

यति एयरलाइन्सको पाँचवटा एटीआरको जहाजले नेपाली यात्रुको माग धान्दै आएको छ । उसले सबैभन्दा पछिल्लो पटक सन् २१ डिसेम्बर २०११ मा ९ एन–एएमजेड जहाज भित्र्याएको थियो । उक्त जहाजले नेपालमा सेवा दिन थालेको ११ वर्ष मात्र हुँदैछ । यतिले सञ्चालन गरेको जहाजको औषत १४ वर्ष पुराना हुन् ।

नेपाली आकाशमा व्यवसायिक उडान भर्ने एयरलाइन्स कम्पनीहरुमा यति एयरसँग रहेको जहाज कम उमेरका हुन् । यी तथ्यलाई विश्लेषण गर्ने हो भने यतिले पुरानो जहाज उडाएकाले दुर्घटना भएको भन्ने कुरालाई ठाडै अस्वीकार गर्न सकिन्छ ।

के विमान पुरानो हुन्छ ?
अवकाश प्राप्त पाइलट प्रचण्डजङ्ग शाह विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ ।

त्यसबाहेक कतिपय समयमा विदेशमै लगेर पनि विमानको परीक्षण गरिन्छ । ‘त्यस कारण जहाजले ’एअरवर्दिनेस कन्डिशन’ पूरा गर्छ भने अर्थात् उडानका लागि योग्य छ भने त्यसलाई विमान पुरानो भएकाले दुर्घटना भएको भन्न सकिँदैन, शाहले भने– ‘जस्तो कि नयाँ विमानसमेत ‘डेलभरि भएको पहिलो दिनमा समेत दुर्घटनामा परेको छ ।’

उनका अनुसार विमानको इन्जिनमा धेरै किसिमका कम्प्युटर जडान गरिएको हुन्छ, जसले विभिन्न पार्टपुर्जाबारे जानकारी गराइरहेको हुन्छ । त्यसकारण उडान योग्यता कायम रहेसम्म विमान पुरानो नहुने शाहको तर्क छ । ‘इन्जिनियरले उडाउन योग्य छ नभनेसम्म पाइलटले त्यो जहाज उडाउँदैन’, उनले भने ।

पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख सहसचिव बुद्धिसागर लामिछाने पनि विमानको आयु नहुने बरु हरेक भाग वा पार्टपुर्जाको छुट्टाछुट्टै आयु हुने बताउँछन् । तसर्थ निश्चित समयानुसार कुन पार्ट मर्मत गर्ने र कुन फेर्ने तय हुने गर्छ ।

‘फेरेपछि फेरि त्यसको पनि आयु हुन्छ । एउटा चक्रअनुसार परिवर्तन भइरहेको हुन्छ । त्यसकारण यो जहाजको यति आयु हुन्छ भनेर तोकिएको हुँदैन’, उनले भने । नेपालमा नागरिक उड्डयन प्राधिकरणले विमानको सबै पार्टपुर्जा चेकजाँच गरेर उडान योग्यताको प्रमाणपत्र जारी गर्ने गरेको बताइन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आईकाओ) ले पनि विमान उड्न योग्य भए त्यो कति पुरानो छ भन्ने कुराले फरक नपर्ने र त्यो योग्यता मान्यताप्राप्त प्राविधिकले प्रमाणीकरण गर्नुपर्ने मापदण्ड तय गरेको अधिकारीहरू बताउँछन् । नेपालमा अहिलेसम्म हवाई दुर्घटनाबारे अनुसन्धान गर्दा मर्मत सम्हारमा समस्या रहेकै कारण विमान दुर्घटनामा परेको नदेखिएको लामिछानेले जानकारी दिए ।
– बीबीसीबाट

यतिपछि सबैभन्दा पुरानो जहाज नेपाली आकाशमा उड्ने कम्पनी सौर्य हो । उसको दुईवटा जहाज २२ वर्षभन्दा पुरानो छ । सन् २००७ मा एटीआर–७२-५०० को ९एन–एएलइ कलसाइन भएको जहाज २२ वर्ष पुरानो हो । यस्तै सन् २००३ मा ९एन–एएमइ कलसाइन रहेको जहाज अहिले पनि नेपाली आकाशमा उडिरहेको छ । यो जहाज नेपाली आकाशमा उड्न थालेको पनि २० वर्ष भइसक्यो ।

श्री एयरलायन्सले सीआरजे ९एन–एएमसी नेपाली आकाशमा उड्न थालेको २१ वर्ष भइसक्यो । उक्त जहाज श्रीले सन् २००२ मा भित्र्याएको थियो । त्यसपछि डास ८–४०० सन् २००७ मा ९एन–एएनइ कलसाइन रहेको जहाज श्रीले २ वटा भित्र्याएको थियो । यी जहाज नेपाली आकाशमा उड्न थालेको पनि १६ वर्ष पुगिसकेको छ । त्यसपछि सन् २००९ मा श्रीले दुईवटा जहाज भित्र्याएको थियो । यी जहाजमा नेपाली आकाशमा उड्न थालेको पनि १४ वर्ष बितिसकेको छ । श्री एयरलाइन्सले उडाउने जहाजको औषत आयु १६ वर्ष २ महिना पुगेको छ ।

नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा समेत तीन दशक पुराना जहाजबाट उडान भरिरहेका तथ्य जगजाहेर छ । एक हजार पाँच सयभन्दा बढी दर्ता रहेर हाल ६ सयभन्दा बढी निजी एयरलाइन्सले भारतमा उडान भरिरहेका छन् । बंगलादेश र पाकिस्तानको अवस्था पनि यस्तै छ ।

जबसम्म नेपाली आकाशमा पुराना जहाज उडिरहन्छन, तबसम्म हवाइ दुर्घटनामा कमी आउँदैन भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी हचुवा र मित्थ्या हुन् भन्ने कुरा विज्ञहरुको भनाइले पुष्टि गरिसकेको छ । दुर्घटना असम्भावित हुन्छ, तर, कहिले कहाँ र कसरी हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले हरेक समय हवाइसेवा दिने कम्पनीहरु दुर्घटना न्यूनिकरणका लागि सजग र चनाखो रहेको हुन्छन् । त्यत्ति हुँदाहुँदै पनि कहिलेकाहिँ प्राविधिक त्रुटी, भौगोलिक विकटता र मौसम परिवर्तनजस्ता कारणले गम्भीर क्षति व्यवहोर्नुपर्ने बाध्यता छ ।